काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सरकार सञ्चालनबारे आफू बेखबर रहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकार सञ्चालनबारे आफूहरुसँग कुनै छलफल नै नभएको बताएका हुन् । उनले सरकार सञ्चालनका सम्बन्धमा कांग्रेस–एमालेले बनाएको राजनीतिक संयन्त्रले के काम गरिरहेको छ भन्ने कुरामा पनि आफू बेखबर रहेको बताए ।
‘सरकार कसरी चलेको छ, धनराज गुरुङलाई के थाहा ? मलाई थाहा छैन । सरकारको मन्त्रीले राजीनामा कतिबेला दिन्छ, कुन मन्त्री कतिबेला नियुक्त हुन्छ, के कारणले को मान्छे बर्खास्त भयो ? हामीसँग कम्तिमा पनि यसरी जान सकिन्छ भनेर रोडम्याप तयार गर्नका लागि कांग्रेसको उपसभापतिसँग केही आईडीया त होला नि त ? आईडीया शेयर भएकोजस्तो त मलाई लाग्दैन । त्यही भएर यी यावत कुराहरु आइरहेको छ । जनतामा निराशा बढेको छ । खोइ के संयन्त्र गठन भएको छ भन्ने सुन्छु म । सरकार चलाउनको लागि पनि त केही ढंगसम्मत गर्नुपर्ने होला नि त,’– उनले भने ।
साथै, उनले सरकार संविधान संशोधनको एजेण्डाबाट पछाडि हटेको बताए । कांग्रेस–एमालेको सरकार बन्ने क्रममा पहिलो नम्बरमा नै संविधान संशोधनलाई मुख्य प्राथमिकता दिइएकोमा त्यो हुन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
‘मैले पदाधिकारी बैठकमै भनेको छु– एक नं बुँदामा हामीले संविधान संशोधनको कुरा लेखेका छौं । त्यसैले छलफल सुरु गर्नुपर्यो । मैले भन्ने त्यही होला नि त । किन गरेनन्, त्यो त मलाई थाहा भएन । अब म त संयन्त्रमा छैन । यदि म संयन्त्रमा भएको भए यो नगरी अगाडि बढ्न हुँदैन भनेर त्यही अडिइरहन्थेँ । त्यही अडिइरहनुपर्थ्यो नि त ?’ प्रश्न गर्दै उनले भने ।
प्रतिक्रिया