धनराजको दाबीः सहकारीको एक रुपैयाँ खाएको छैन, रातो पासपोर्ट त देखेकै पनि छैन


काठमाडौं, १२ पुस । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नो राजनीति सकाउन केही मान्छेहरुले विभिन्न काण्डहरुमा मुछ्न खोजेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफ्नो राजनीति सकाइदिने उद्देश्यले केही मान्छेहरुले रातो पासपोर्ट, सहकारी ठगीलगायतका फण्डा मच्चाएर आफूलाई फसाउन खोजेको बताएका हुन् । यी दुवै प्रकरणमा निष्पक्ष छानविन भएको कारण आफू बच्न सकेको उनले बताए ।

‘फण्डा मच्चाउनेहरुले धनराजको राजनीति सिध्याउनलाई गरेको मात्रै हो यो त । त्यस कारणले अहिले पनि मेरो सम्पत्ति खोजे हुन्छ । मलाई राजनीतिबाटै सिध्यान सकिन्छ कि भनेर पहिला एक पल्ट रातो पासपोर्ट काण्ड, रातो पासपोर्ट देख्दै नदेखेको मान्छेलाई रातो पासपोर्ट काण्ड लगाइएको थियो । अहिले सहकारीको एक रुपैयाँ पनि नदेखेको मान्छेलाई सहकारी काण्डमा मुछ्न खोजेको थियो । धन्न निष्पक्ष अनुसन्धान भयो क्या । फियर इन्भेष्टिगेशन भयो भन्ने मलाई लागेको छ,’– उनले भने ।

गुरुङले कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोग गरेको विषयमा मुद्दा नै चलेको थियो । अन्ततः उनले अदालतबाट सफाइ पाएका थिए । त्यस्तै, ललितपुरको महालक्ष्मीस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जोडिएका गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले बोलाएर बयान लिएको थियो । यद्यपि सहकारी ठगी प्रकरणमा भने उनीविरुद्ध मुद्दा चलाइएको छैन । File Photo/RN