नागरिकले अधिकारमात्रै खोज्ने र कर्तव्य पालना नगर्ने हो भने राज्य कमजोर हुन्छः महासचिव पोखरेल


काठमाडौं, १२ वैशाख । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नागरिक अधिकारले मात्रै राज्य बलियो नहुने बताएका छन् । प्रेस चौतारी नेपालको दोस्रो केन्द्रीय कमिटि बैठकलाई सम्बोधन गर्दै पोखरेलले राज्यलाई बलियो बनाउन जनता अधिकारले सम्पन्न र कर्तव्यप्रति प्रतिवद्व हुनुपर्ने बताए । ‘राज्यलाई बलियो बनाउन जनता अधिकारले सम्पन्न र कर्तव्यप्रति प्रतिवद्व हुनुपर्छ,’– उनले भने, ‘नागरिक राज्यप्रति कर्तव्यनिष्ठ हुनुपर्छ ।’

नागरिकले अधिकारमात्रै खोज्ने र कर्तव्य पालना नगर्ने हो भने राज्य कमजोर हुने दाबी गर्दै पोखरेलले कमजोर राज्यले नागरिक अधिकारको संरक्षण गर्न नसक्ने बताए । नागरिक आफू बलियो बन्नलाई राज्य बलियो बनाउन एकजुट हुनुपर्ने पोखरेलको भनाइ छ । हरेक नागरिकले देशमा केहि छैन भनेर निराशा छर्नुभन्दा पनि देशमै गरे सम्भव छ भनेर आशाका किरण फैलाउनुपर्ने महासचिव पोखरेलले बताए । नेपाललाई कमजोर बनाउन अचेल नियोजितरूपमा प्रहार हुन थालेकोमा चिन्ता व्यक्त गर्दै महासचिव पोखरेलले नागरिक र राज्यबीचको सम्बन्ध सुमधुर हुनुपर्ने बताए ।