माओवादी नेता सापकोटाद्वारा जन्मदिनमा सहयोग


काठमाडौं, १६ बैशाख । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले मानव कल्याण समाज (सेवाघर)मा आश्रित सबै जनासँग दुःख साट्दै आफ्नो जन्मदिन मनाएका छन् ।

उनीहरूलाई खाद्यान्न सहयोगसहित बेलुकाको भोजनको व्यवस्था गरिदिएर उनले सोमवार आफ्नो जन्मदिन मनाएका हुन् । भक्तपुरको मध्यपुर नगरपालिका थिमी–३ का स्थायीवासी दीपशिखा र उनकी पत्नी गोमा आलेले भक्तपुरकै चाँगुनारायण–३ मा झौखेलमा रहेको सेवाघरमा गई उनीहरूसँग जन्मदिन मनाएको सेवाघरकी सञ्चालक सुमी मानवको कथन छ ।

सडकबाट उद्धार गरी सेवाघरमा लगिएका जेष्ठ नागरिकलाई बेलुकाको भोजन गराएका सापकोटा दम्पतीले थप खाद्यान्न सामग्री पनि सहयोगस्वरूप हस्तान्तरण गरेका उनले जनाएकी छन् ।

‘पाँच बिरा चामल, एक कार्टुन तेल, नून, दाल, चना, हरियो बोडी, काउली र आलु उहाँहरूले दिनुभयो ।’ मानव कल्याण समाजकी अध्यक्षसमेत रहेकी सुमी मानवले सुनाइन् ।

दीपशिखा–दम्पतिबाट सेवा, प्रेम र प्रेरणाका लागि गरिएको यस कार्यले समाजमा सकारात्मक ऊर्जा फैलाउने उनको आशा छ ।
सेवाघरमा आश्रित जेष्ठ नागरिकले टीभीमा देखेका नेतालाई आफैसँग पाउँदा खुसी व्यक्त गरेका थिए । उनीहरूले आफूले सहारा पाए पनि आफूहरू जस्तै बेसहाराहरुको लागि सहारा खोजिदिन आग्रह गरे ।

सेवा घरमा जन्मदिन मनाउँदा छुट्टै सन्तोष लागेको प्रतिक्रिया दिँदै युवा नेता दीपशिखाले बेसहारा मानिसको सहारा बन्ने सेवाघरलाई सदैव आफ्नो साथ अनि सहयोग रहने प्रतिबद्धता पनि प्रकट गरे । दीपशिखा वाईसीएल नेपालका इन्चार्ज छन् ।