रोजगारीका लागि साउदीमा पुगेका कर्णबहादुर तामाङलाई दलालले पुर्यायाे जेल, छोराले माग्याे सरकारसँग गुहार


काठमाडौं । रोजगारीका लागि साउदी अरब पुगेका सर्लाहीका कर्णबहादुर तामाङ दुई महिनादेखि जेलमा छन् । साउदीमा एक दलालकाे कारण कर्णबहादुर जेलमा परेपछि उनका छोरा सन्दीप तामाङले बुबालाई सकुशल स्वदेश फर्काउन नेपाल सरकारसँग गुहार मागेका छन्।

आर्थिक अभाव र चर्को जरिवानाका कारण बुबालाई नेपाल फर्काउन असमर्थ रहेको भन्दै उनले कूटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालय र साउदी अरबस्थित नेपाली दूतावाससँग आग्रह गरेका हुन्।

सन्दीपका अनुसार कर्णबहादुर करिब दुई वर्षअघि रोजगारीका लागि साउदी अरब गएका थिए। नेपालबाट म्यानपावर कम्पनीले भिसामा उल्लेख भएअनुसार तलब तथा खानबस्ने सुविधा उपलब्ध हुने आश्वासन दिएको थियो। तर, साउदी पुगेपछि रोजगारदाता कम्पनीले सम्झौताअनुसारको तलब र खानबस्ने सुविधा उपलब्ध नगराएको उनले बताए ।

कर्णबहादुर र उनका साथीहरूले सात–आठ महिनासम्म काम गरे पनि तलब तथा खानबस्ने सुविधा नपाएपछि कम्पनीसँग अनुरोध गरेका थिए। कम्पनीबाट सकारात्मक प्रतिक्रिया नआएपछि उनीहरू कम्पनी छाडेर अन्यत्र लुकिछिपी काम गर्न बाध्य भएको सन्दीप बताउँछन् । त्यसपछि उनीहरूले करिब सात–आठ महिना अन्यत्र काम गरेका थिए ।

नेपाल फर्कन आवश्यक कागजात र पासपोर्ट नभएपछि कर्णबहादुरले अर्को दलालको सहयोग लिनुपरेको थियो। दलालले आवश्यक प्रक्रिया पूरा गर्न आठ लाख रुपैयाँ मागेपछि परिवारले उक्त रकम दलाललाई दिएकाे थियाे । तर, रकम पाएपछि दलालले कर्णबहादुरलाई नेपाल फर्काउनुकाे सट्टा पुरानै रोजगारदाता कम्पनीको सम्पर्कमा पुर्‍याएको सन्दीपको भनाइ छ।

त्यसपछि कम्पनीले कर्णबहादुरलाई साउदी अरबको ३६ हजार ३०० रियाल जरिवाना लगाएको जानकारी परिवारले पाएको छ। जरिवाना तिर्न नसकेपछि उनी जेल परेको दुई महिना पूरा भइसकेकाे छ ।

परिवारको आर्थिक अवस्था कमजोर रहेको र जरिवाना तिर्न सक्ने क्षमता नभएकाले बुबालाई स्वदेश फर्काउन कठिन भएको सन्दीपको भनाइ छ। उनले परराष्ट्र मन्त्रालय, नेपाल सरकार तथा साउदी अरबको रियादस्थित नेपाली दूतावासलाई कूटनीतिक पहल गरी बुबाको उद्धार गर्न र सकुशल नेपाल फर्कने वातावरण मिलाइदिन आग्रह गरेका छन्।

धन कमाएर परिवारलाई खुशि दिलाउने उदेश्यले साउदीमा पुगेका कर्णकहादुर आफैँ जेलमा परेपछि अहिले उनकाे परिवार चिन्तित छन् ।