काठमाडौं, १६ वैशाख । नेकपा (एमाले) का स्थायी समिति सदस्य कर्ण थापाले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर कान भर्नेको जमातबाट मुक्त हुन सुझाव दिएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूले प्रधानमन्त्री ओलीसँग केही दिनअघि ५ घण्टा लामो छलफल भएको बताए । सो क्रममा आफूले काम नगर्ने, तर कान भर्नेहरुबाट मुक्त हुन भनेको नेता थापाले बताए । नेता थापाले आफू ओलीको विरोधी नरहेको बताए । ओलीको पक्षमा कोही पनि नभएको बेला आफू एक्लै पक्षमा उभिएको समेत नेता थापाले स्मरण गराए ।
‘केपी ओलीलाई यो पार्टीको अध्यक्ष हुन्छ भनेर कसैले भन्थ्यो ? त्यो सम्भव थियो ? आज तिनै केपी ओलीको पछाडि नाराबाजी लगाएर जिन्दावाद भन्दै हिँडेका छन् । जिन्दावाद चाही भनेका छन् । सबै दोषको भारी उहाँ (ओली) को टाउकोमा, अनि लाभजति खुरुखुरु आफूले लिइराखेका छन्,’ नेता थापाले भने, ‘अहिले सानो कोटरी बनिरहेको काम गर्ने होइन, केपी शर्मा ओलीलाई रातदिनै गलत कुरा भनिरहने, काम गर्ने होइन, कान भर्ने । कान भर्नेहरुको जमातबाट तपाईँ मुक्त हुनुस् प्रष्ट ढंगले मैले भनेको छु । उहाँ त्यसमा सहमत हुनुहुन्छ । सिंगै पार्टीको आकांक्षा, इच्छा, चाहनाअनुसार काम गर्छु कसैको घेराबन्दीमा रहन्न भनेर उहाँले स्पष्ट भन्नुभएको छ ।’
साथै, उनले पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले गुटको अभ्यास गरिरहेको स्वीकार गरे । उनीहरु केन्द्रको पदाधिकारी तहमा रहेर पनि आफैं गुट सिर्जना गर्ने, अन्तरविरोध खडा गर्ने, आफ्नो पक्षमा लविङ गर्नेै, कम्युनिष्ट आन्दोलन र जनताको बहुदलीय जनवादविपरीत काम गर्ने गरिरहेको उनले बताए । पौडेल र पोखरेलले गुटको अभ्यास गरेको विषय आफूले पार्टीको केन्द्रीय समिति बैठकमै राखेको नेता थापाले बताए ।
‘उहाँहरुले लड्नु त बेकार छ, फजुलको लडाइँ हो त्यो । त्यो अनर्थको लडाइँ लड्न हुँदैन । अहिले पार्टीको महासचिव हुनुहुन्छ शंकर पोखरेल, उहाँले त पार्टीलाई विस्तार गर्ने, सुदृढ बनाउने, देशभरीका कार्यकर्ताहरु सबैको रक्षा गर्ने, सम्मान गर्ने र कहीँ पनि गुटको स्थिति खडा नगर्ने, तलका अन्तरविरोधलाई समाधान गर्ने गर्नुपर्यो नि त । जिम्मेवारीमा रहेको मान्छेले गुट सिर्जना गर्ने हो ? आफैंले गुट खडा गर्ने ? आफैंले तल–तल अन्तरविरोध सिर्जना गर्ने ? अहिले के भइरहेको छ भने, मैले स्थायी कमिटी बैठकमा लिखित रुपमा भनेको छु । पार्टी केन्द्रमा बसेर कतिपय मान्छेहरुले अन्तरविरोधहरु सिर्जना गराउने, गुटबन्दी सिर्जना गर्ने, आफ्नो पक्षमा लविङ गर्न लगाउने, तल–तलको अन्तरविरोधमा खेल्ने, यदि छैन भने नयाँ अन्तरविरोध खडा गर्ने, कम्युनिष्ट आन्दोलन र जनताको बहुदलीय जनवादविपरीतको काम गरेका छन् । त्यो गर्न पाइँदैन भनेर मैले केन्द्रीय समिति बैठकमा राखेको छु । गुट छ भने त्यो विनासको कदम हो,’– उनले भने ।
प्रतिक्रिया