गगनले फेरि सम्झाए कीर्तिपुर, महिनाकै २/३ लाख कमाउन सकिने दाबी


काठमाडौं, १६ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि डाँडोमा बसेर महिनाको २/३ लाख कमाउन सम्भव रहेको बताएका छन् । विपन्न वर्गको उत्थान र विकाससम्बन्धी कांग्रेसको नीतिगत प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नलेज इकोनोमीमार्फत युवाहरुले महिनामै २/३ लाख कमाउन सक्ने बताएका हुन् ।

‘एउटा डाँडोमा बसेर २/३ लाख रुपैयाँ कमाउन सकिन्छ भन्ने इम्याजिनेशनको कुरा मैले गरेँ । कतिलाई रमाइलो कुरा पनि भयो । तर त्यो इम्याजिनेशन, ड्रिम हो । सम्भव छ । सम्भव के ले छ ? एउटा व्यक्तिलाई हातमा स्किल दियो, क्षमता दियो भने त्यो सम्भव छ । हामी अब नलेज इकोनोमीमा छिरेका छौं । नलेज इकोनोमीमा अहिले चाइनमा जन्मिएको एउटा केटाले डीपसिक बनाएर, सिलिकन भ्यालीले उसलाई अनुमोदन नगर्दा नगर्दै पनि म च्याट जीपीटीसँग कम्पिटिसन गर्ने ठाउँमा पुग्छु भन्दै गर्दाखेरी त्यो के ले बनाएको छ ? सब ठाउँमा नयाँ सम्भावनाको ढोका खुलेको छ,’– उनले भने ।

महामन्त्री थापाले कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आयोजित पार्टीको कार्यक्रममा आफ्नो पार्टीले चुनाव जितेको खण्डमा कीर्तिपुरका युवाहरुले ल्याप्टपको सहायताबाट मासिक २/३ लाख कमाउन सक्ने बताएका थिए । उनको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा ट्रोल नै बनेको थियो ।