काठमाडौं, २४ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद उदयशमशेर जबराले भारतको पहलगाममा भएको आतंकवादी हमलाको नेपाल सरकार र नेपाली कांग्रेसले निन्दा गरेको बताएका छन् ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘नेपाल सरकार, नेपाली कांग्रेस, नेपाली राजनीतिक दलहरुले संसारमा जहाँ भएपनि आतंकवादी गतिविधिलाई हामीले निन्दा गर्छौं । जुन जुन आतंकवादी क्रियाकलापहरु भैरहेको छ, ती सम्बन्धित देशहरुले पनि तुरुन्त यस्ता क्रियाकलापलाइ जानी जानी आँखा पछाडि भएको छ, यसलाई रोक्नको निम्ति सबै मिलेर रोक्नुपर्छ । कदम चाल्नुपर्छ ।’
उनले भारत र पाकिस्तानलाई संयमतता अपनाउन आग्रहसमेत गरे । भारत र पाकिस्तान दुवै देश न्युक्लियर पावर देश भएको उल्लेख गदैृ संयमतता अपनाउनुपर्ने सुझाव दिए । रुस–युक्रेन युद्ध, इजरायल–हमाश युद्धको असरबारे प्रकाश पार्दै भारत र पाकिस्तानले संयमतता अपनाउनुपर्ने उनको जोड छ । उनले भने,‘यसले भोलि दक्षिण एशियाली मुलुकमा पनि समस्या ल्याउँछ । भारतसँग हाम्रो खुला सिमाना छ । हामीलाई समस्या आउनसक्छ । नेपाल भूमिलाई कुनैपनि हालतमा छिमेकविरुद्ध र आतंकवादलाई प्रोत्साहन हुने काम हाम्रो भूमिमा हुन दिँदैनौं । नेपाल सरकारले एयरपोर्ट र बोर्डर सेक्युरिटी अझै कडा बनाउनुपर्छ ।’
यस्तै, उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम पहिलाका नीतिलाई नै टेकेर आएको भन्दै स्वागत गरे । उनले भने,‘नीति तथा कार्यक्रम धेरै कुराहरु पहिलाका नीति तथा कार्यक्रमलाई टेकेर आएको छ ।’ यसपटकको नीति तथा कार्यक्रमले भौतिक पूर्वाधारमा अलिक बढि ध्यान दिएको उनले स्पष्ट पारे । उनले भने,‘जुन योजना अलपत्र परेका छन, अड्किएर बसेका योजना व्यवस्थापनमा चलायमान बनाउने भनेको छ । उच्चस्तरीय सुधार आयोगको प्रतिवेदनमा केन्द्रित हुन भनिएको छ ।’
प्रतिक्रिया