भ्रष्टाचारविरुद्ध सत्य बोल्ने रवि लामिछानेमाथि षड्यन्त्र र दमनको साहारमा जेलमा कोच्ने काम भयो : चन्दा कार्की



काठमाडौं, ३१ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले आफ्नो पार्टी सभापति रवि लामिछानेलाई भ्रष्टाचार र बेथितिविरुद्ध सत्य बोल्ने नेताको रुपमा चित्रण गरेकी छिन् । आजको प्रतिनिधिसभाको बैठकमा विनियोजन विद्येयकमाथिको छलफलमा भाग लिने क्रममा उनले नीति तथा कार्यक्रम जे जति आदर्शको कुरा लेखिएपनि भ्रष्टाचार र बेथितिविरुद्ध सत्य बोल्ने लामिछानेजस्तालाई षड्यन्त्र र दमनको साहरामा जेलमा कोच्ने काम भएको हुँदा आफूले नीति तथा कार्यक्रमको विश्वसनियतामाथि नै प्रश्न गर्नसक्ने बताईन् ।

उनले स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको भन्दै त्यो रोक्ने नीति खोई? भनेर प्रश्नसमेत तेसाईन् । उनले सूर्तीजन्य पदार्थमा भारी कर वृद्धि गर्ने नीति ल्याउनपनि सरकारलाई सुझाव दिईन् । उनले कृषिको व्यवसायीकरण गर्ने भनेर सरकारले भनेपनि अहिलेसम्म किसानसँग मल र बजार दुवै नभएको यथार्थ चित्रण गरिन् ।

उनले नेपाललाई कृषिप्रधान देश भनिएको भएपनि अहिलेसम्म चामल, गहुँ, दाल, तरकारी र फलफूलजस्ता चिजमा आत्मनिर्भर हुने लक्ष्य राख्न नसकिएकोमा गुनासो पोखिन् । सरकार बजेट कार्यान्वयन क्षमतामा समेत कमजोर देखिएको उनको आरोप छ ।