काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारको सूची प्रचार गरिएको भन्दै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थनका रूपमा नबुझ्न आग्रह गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि मतदान सुरु भएपछि सामाजिक सञ्जालमार्फत थापाले यसपटक पार्टीमा कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पारे ।
उनले आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारहरूको सूचीलाई आधिकारिक समर्थन वा सिफारिसका रूपमा नलिन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्। साथै, कुनै पनि अफवाहको पछि नलाग्न पनि उनले सचेत गराएका छन्।
थापाले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै भ्रम वा प्रभावमा नपरी पार्टीको हितलाई सर्वोपरि राख्दै स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न आह्वान गरेका छन्।
उनले महाधिवेशनको निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो सुरु भएको उल्लेख गर्दै यसबाट प्रतिनिधिहरूमा परेको असुविधाप्रति क्षमासमेत मागेका छन्।
महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासमा सहभागी हुँदा सबै प्रतिनिधिलाई मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले मतदान प्रक्रियामा भाग लिन आग्रह गर्दै थापाले प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
बिहिबार राति महाधिवेशनमा उम्मेदवारी दिएका नेताहरूको नाम समेटिएको एउटा ‘लिस्ट’ बाहिरिएको थियाे । उक्त लिस्टमा आफ्नो कुनै आधिकारिक सिपारिस वा समर्थन नरहेको थापाले स्पष्ट पारेका हुन् ।




प्रतिक्रिया