राष्ट्र बैंकले अध्यक्षबाट बर्खास्त गरेका बोहरा पुनः सञ्चालकमा निर्वाचित भएपछि नेरुडे मिर्मिरेमा समस्या बल्झियो


काठमाडौँ, ७ जेठ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा सञ्चालक समितिको विवाद एकपटक पुनः चर्किने पक्का भएको छ। यसपटक संस्थाका पुराना बिवादित व्यक्ति पुनः निर्वाचित भएका छन् भने, संस्थागत शेयर होल्डर रहेको प्राइम कमर्सियल बैंकले चुनावमा पराजित भएको छ।

सोमबार भएको चुनावमा संस्थापक समूहका ३ जना सदस्य – मणिकुमार अज्र्याल, सन्तोष फुयल र टेक बहादुर बोहरा निर्वाचित भएका छन्। यसका साथै, सर्वसाधारण समूहका ३ जना सदस्य – सुधिर कुमार श्रेष्ठ, सञ्जू घिमिरे र राजकुमार राई निर्विरोध रुपमा निर्वाचित भएका छन्।

पुनः निर्वाचित भएका बोहरालाई आर्थिक अनियमितता, संस्थागत सुशासनको कमी र अध्यक्ष हुँदा मनपरी गर्ने आरोप लागेको थियो। यस कारण राष्ट्र बैंकले उनलाई अध्यक्ष पदबाट बर्खास्त गरिदिएको थियो। तैपनि, उनी पुनः संस्थामा निर्वाचित भएका छन्।

हाल, बोहरा पक्षमा ३ जना सञ्चालक चयन भएका छन् भने अर्को पक्षमा पनि ३ जना सञ्चालक बनेका छन्। अब अध्यक्ष चयनको विषयमा असमन्जस कायम भएको छ, जसले संस्थामा नयाँ समस्याहरु उत्पन्न गर्न सक्छ।

यस अवस्थामा, राष्ट्र बैंकले निर्णायक भूमिका खेल्न सक्छ। नियामक निकायको रूपमा राष्ट्र बैंकको भूमिका महत्त्वपूर्ण रहेको छ र संस्थाले यसलाई आफ्नो अभिभावक मान्ने भएकाले अब संस्थाको भविष्य राष्ट्र बैंकको निर्णयमा निर्भर रहन्छ।

उच्च व्यवस्थापनका कर्मचारीहरूले पनि संस्थाको मजबुतीको लागि सही नेतृत्वको आवश्यकता रहेको बताउँछन्। एक कर्मचारीले भने, “नैतिक रूपमा पतन भएको व्यक्तिको स्थानमा राम्रो नेतृत्व आएको खण्डमा संस्था बलियो बन्न सक्छ। यसका लागि राष्ट्र बैंकको सहयोग अनिवार्य छ।”