गठबन्धन टुट्ने वा टिक्ने भन्ने प्रधानमन्त्री ओली र उहाँको पार्टी एमालेमा निर्भर छः डा.प्रकाशशरण महत


काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन टुट्ने वा टिक्ने भन्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओली र उनको पार्टी नेकपा (एमाले) मा निर्भर रहेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्ने उनले कांग्रेसले नाजायज र बेइमानी काम नगर्ने बताएका हुन् । सरकार टिकाउन प्रधानमन्त्री ओलीले विश्वासको वातावरण निर्माण गर्नुपर्ने, सन्तुलन र समन्वय हुनुपर्ने उनको भनाइ छ ।

‘अलग–अलग विचार भएको पार्टी, त्यो पनि प्रतिस्पर्धी एक ठाउँमा भएको अवस्थामा एकअर्काको दृष्टिकोणलाई बुझ्न कोशिस गर्दा एक विश्वास बढ्छ । शंका उपशंका हट्छन् । प्रधानमन्त्री स्वभाविक रुपमा सरकार प्रमुख भएको हुनाले उहाँको दायित्व र उहाँको पार्टीको दायित्व अझ बढी हुन्छ । गठबन्धनमा विश्वासको वातारण सिर्जना गर्ने, सन्तुलन र समन्वय गर्ने, कुनै किसिमको आशंका हुनेगरी एकलौटी, एकतर्फमात्रै जान खोज्यो कि भन्ने परिस्थिति आउन नदिने कामको नेतृत्व प्रधानमन्त्रीले लिनुपर्छ । कांग्रेस उदार पार्टी हो । हामी नाजायज कुराहरु गर्दैनौं । यही कुरामा निभर्र गर्छ,’– उनले भने ।

साथै, ढिलै भए पनि नेपाल राष्ट्र बैंकको भगर्नर कांग्रेसले सिफारिस गरेको र निकै राम्रो मान्छेलाई प्रधानमन्त्रीले नियुक्त गरेको भन्दै उनले खुसी व्यक्त गरे । गभर्नर डा.विश्व पौडेल योग्य र सक्षम व्यक्ति रहेको उनले बताए । अब सरकार र राष्ट्र बैंकले एउटै लयमा काम गर्न सक्नुपर्ने उनले बताए ।

त्यस्तै, फरक प्रसंगमा उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत अस्वभाविक रुपमा बढाएर भ्रष्टाचार भएको बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार प्रकरण छानविन हुनुपर्ने बताए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागतलाई अस्वभाविक रुपमा कयौं गुणा बढाइयो । त्यति लागत त्यसमा लाग्ने होइन । अब त्यसको छानविन गर्नुपर्छ भनेर संसदीय समितिले पनि भनेको छ । त्यसलाई गम्भीरतापूर्वक छानविन गर्नुपर्छ । लुम्बिनी (भैरहवा) मा पनि त्यो किसिमको भएको छ भनेर आएको छ । त्यसको पनि छानविन गर्ने भनेको छ क्यारे । त्यसलाई गम्भीरताको साथ हेर्नुपर्छ,’– उनले भने ।