मधेश पर्यटन वर्ष–२०८३ सफल बनाउन मन्त्री कुशवाहासँग संयोजक ठाकुरको भेट


काठमाडौं, २६ जेठ । मधेश सरकारका नवनियुक्त उद्योग,वाणिज्य तथा पर्यटनमन्त्री वसन्त कुशवाहा र ‘घुमौं मधेश, बुझौं मधेश’का संयोजक विकास कुमार ठाकुरबीच भेटवार्ता भएको छ । मधेश पर्यटन वर्ष २०८३ लाई मनाउनेगरि नीति तथा कार्यक्रम आएपछि त्यसलाई सफल बनाउने उद्देश्यले दुई जनाबीच भेटवार्ता भएको हो ।

आगामी बजेटमा मधेशको पर्यटन विकासलाई प्राथमिकतका साथ अघि बढाउने विषयमा आफूहरुबीच छलफल भएको संयोजक ठाकुरले जानकारी दिए । ठाकुरले मधेश पर्यटनको हिसाबले पनि ठूलो सम्भावना बोकेको प्रदेश भएकोले यसको विकासको लागि अहिलेको सरकार गम्भीर रहेको बताए ।

मुख्यमन्त्री सतिशकुमार सिंहले नै समग्र मधेशको विकासको लागि प्रेरणादायी भूमिका खेलेको र नीति तथा कार्यक्रममा नवीन कुरा समेटिएको ठाकुरले जनाए । उनले अब बजेटपनि त्यहीअनुसार आउनेमा आफूहरु आशावादी रहेको बताए ।

उनले अब मधेश विकास र समृद्धिको मार्गमा अघि बढिसकेकोले आगामी वर्षहरु मधेशको लागि स्वर्णकालको रुपमा स्थापित हुनेपनि विश्वास दिलाए । नेपाली कांग्रेसका युवा नेतासमेत रहेका संयोजक विकास ठाकुरले प्रत्येक वर्ष चारदेखि पाँच लाखसम्म पर्यटक मधेशमा ल्याउने कुरा यसअघि नै घोषणा गरिसकेका छन् ।

यसअघिका सरकारले मधेशमा अहिलेसम्म कति पर्यटक आए भन्ने डाटासमेत बनाउन नसकेकोले आरोप लगाउँदै ठाकुरले आफूहरुले भने अब मधेशमा कति पर्यटक आए भन्ने तथ्यांक संकलन गरिसकेको कुरा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा बताएका थिए । उनले मधेश सबै हिसाबले धनी र सम्पन्न रहेको सुनाए । मधेशको धार्मिक, सांस्कृतिक, पर्यटकीय महत्वलाई अझै बढोत्तरी गर्नेगरि आफूहरुले काम गरिरहेको उनको भनाई छ ।