काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) नेपालको हितमा छ कि छैन भन्ने कुरा त्यसको परिणामले देखाउने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दलहरुले नेपालको हितमै छ भनेर बीआरआईमा हस्ताक्षर गरेको बताए । त्यसको परिणामले मात्रै नेपालको हितमा रहेको वा नरहेको पुष्टि गर्ने उनको भनाइ छ ।
‘बीआरआई नेपालको हितमा छ या छैन, त्यसको परिणामले बताउँछ । बीआरआई या अन्य कुनै परियोजना ल्याउँदाखेरी करिब–करिब अहिले सत्तामा रहेका दलहरु सबैले हितमै छ भनेर ल्याएका हुन् नि । ल्याउने त हामी हो नि,’– उनले भने ।
नेता यादवले बीआरआई परियोजना स्वीकार गर्दा पनि त्यो नेपाल र नेपालको छिमेकी मुलुक भारतको अहितमा हुन नहुने बताए । नेपाल र छिमेकी राष्ट्रको हितमा छैन भने जुनसुकै परियोजना पनि ल्याउन नहुने उनको धारणा छ ।
‘यदि बीआरआई नेपालको हितमा छ र हाम्रा मित्र राष्ट्रको अहितमा छैन भने यसमा के खराबी छ र ? मित्रराष्ट्रको अहित हुन हुँदैन । देशको हित हुनुपर्छ । के खराबी हुन्छ र त्यसमा । तर, यदि हाम्रो पनि हितमा छैन र छिमेकी मित्र राष्ट्रको पनि हितमा छैन भने यस्ता कुरा किन ल्याएको होला । त्यसको जवाफ त कांग्रेस–कम्युनिष्टहरुले दिनुपर्छ,’– उनले भने ।
प्रतिक्रिया