दाङ, ९ कात्तिक । ‘पैसेरु’ नाचलाई जोगाउन कुटीचौरका स्थानीयहरु सक्रिय भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१९ स्थित कुटीचौरवासीको लोकप्रिय उक्त नाच प्रायः लोपहुने अवस्थामा पुगेपछि पहिचान जोगाउने अभिप्रायले स्थानीय सक्रिय भएका हुन् ।
“नाचगान नहुँदा त तिहार आयो कि आएन, दसैँ आयो कि आएन जस्तै हुन्छ”, सोरठी नाचका गुरु कृष्णबहादुर मल्लले भने, “नाचिएन भने त गाउँ नै सुनसान र रित्तो लाग्छ ।”
गाउँमा हराउन लागेको संस्कृति जोगाउन सात वर्षअघि समूह गठन गरेर यो अभियान थालिएको उनले बताए । यो नाचमा युवाहरु पनि सक्रिय भएका छन् । “पुरानो पुस्ताले यो नाच नाच्नुभयो, अब हामीले यसलाई जोगाउनुपर्छ भनेर हामी पनि लागेका छौँ”, स्थानीय युवा सेवक मल्लले भने, “अब हामीले यो नाच जोगाउनुपर्छ ।”
अहिले कुटीचौर तथा आसपासमा जुनसुकै चाडपर्व, मेला–जात्रा वा उत्सव होस्, पैसेरु नाचको टोली तयार भइहाल्छ । गाउँका १० देखि १२ जना वा सोभन्दा बढीको समूह भेला भएर मान्यजनका आँगनमा पुग्ने र नाच प्रदर्शन गर्ने गरिन्छ ।
केवल दसैँ–तिहार जस्ता ठूला पर्वमा मात्र होइन, गाउँघरमा हुने पूजाआजा, विवाह, न्वारान तथा अन्य शुभकार्यमा समेत निम्तो आउँदा यो टोलीले उत्साहका साथ पैसेरु नाच पस्कने गरेको छ । यतिखेर पुराना गुरुबाट नयाँ पुस्ताले नाचका ताल र शैली सिकिरहेका छन् ।




प्रतिक्रिया