कांग्रेस-एमाले गठबन्धनले यथास्थितिको प्रतिनिधित्व गर्दा प्रतिगमनकारीहरुले टाउको उठाएः नारायणकाजी श्रेष्ठ


काठमाडौं, ३१ जेठ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेस–एमालेसहितको वर्तमान गठबन्धन सरकारले यथास्थितिवादको प्रतिनिधित्व गरिरहेको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित पार्टीनिकट सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले यथास्थितिको प्रतिनिधित्व गर्दा प्रतिगामी शक्तिहरुले टाउको उठाउने अवसर पाएको बताएका हुन् ।

वर्तमान सरकारको काम कारबाहीबाट जनतामा आक्रोश र असन्तुष्टि पैदा भएको उनले बताए । नेता श्रेष्ठले यथास्थितिलाई परास्त नगरीकन प्रतिगमनलाई परास्त गर्न नसकिने उनले बताए ।

‘कांग्रेस–एमालेको गठबन्धनको सरकार छ । जसको नेतृत्व एमालेले गरिराखेको छ । यो सरकारले यथास्थितिवादको प्रतिनिधित्व गरेको छ । ती पार्टीहरुले यथास्थितिवादको प्रतिनिधित्व गरिराखेका छन् । अहिले जे छ त्यही नै चलाइराख्ने । यसले अहिलेको आवस्यकतालाई पूरा गर्दैन । नेपालको समस्या समाधान गर्दैन । त्यसले जनतामा असन्तुष्टि बढाउँछ, आक्रोश बढाउँछ र निराशा पैदा गर्छ । त्यसको जगमा प्रतिगामी शक्तिहरु सल्बलाउँछन् र टाउको उठाउँछन् । त्यसकारण यथास्थितिवादलाई परास्त नगरीकन प्रतिगमनलाई पनि परास्त गर्न सकिँदैन,’– उनले भने ।