काठमाडौं, १ असार । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समर्थन र विरोध सही ढंगले नभएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डको विरोध र समर्थन गर्ने दुवैले सही वा गलत के हो भनेर छुट्याउन नसकेको बताएका हुन् ।
प्रचण्डको समर्थन गर्नेले पनि यहाँ कमजोरी भयो भनेर उभिन नसकेको, सबै ठीक छ, राम्रो छ मात्रै भनेको उनले बताए । विरोध गर्नेले विरोधको कित्तामामात्रै उभिएको उनले बताए ।
‘विरोध गर्नेले पनि ठीक ठाउँमा बसेर विरोध गर्न सकेनन् प्रचण्डको । समर्थन गर्नेले पनि ठीक ठाउँमा बसेर गर्न सकिएन । त्यहाँ गल्ती गरियो भन्ने छ मेरो बुझाई । समर्थन गर्नेले ठीक ठाउँमा बसेर प्रचण्डको कहाँ–कहाँ के पुग्दैन, त्यहाँ उभिनुपर्थ्यो नि । प्रचण्ड ठीक, राम्रो भनेरमात्रै हुन्छ र ? प्रचण्डको कहाँ–कहाँ के पुगेन, हामी त्यहाँ उभिएको भए यो पार्टी यस्तो हुन्थ्यो ? अनि विरोध गर्नेले पनि विरोधीको कित्तामा उभिएर विरोध गर्यो,’– उनले भने ।
अहिलो पछिल्लो पुस्तामा अब को नेता आउँछ भन्ने कुरामा सबै दलमा अभाव रहेको नेता गजुरेलले बताए । नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) कुनै दलमा पनि भविष्यको नेतृत्व को हो भन्ने अभाव खड्किएको उनले बताए ।
प्रतिक्रिया