गठबन्धन ठगबन्धन भएको छ, कांग्रेस-एमालेसहितको सरकारले पनि निकास दिन सक्दैनः नागरिक समाजका अगुवा दीक्षित


काठमाडौं, १ असार । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले कांग्रेस–एमाले गठबन्धन सरकारले देशलाई निकास दिन नसक्ने पुष्टि भएको दाबी गरेका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दुई फरक सिद्धान्त भएका दलहरुले पनि देशको निकास दिन नसक्ने अवस्था आइसकेको बताएका हुन् । अहिले माओवादी खाओवादी, कम्युनिष्ट कमाउनिष्ट र कांग्रेस सिद्धान्तविहीन अवस्थामा रहेको उनको टिप्पणी छ ।

सबैभन्दा पहिला राजनीतिक दलहरु आफ्नो सिद्धान्तमा दृढ हुनुपर्ने उनले बताए । ‘यो ठगबन्धन बाहेक केही भएको छैन । आफ्नो दुनो सोझ्याउने, जनता जेसुकै गरुन् । त्यो अवस्था नेपालको, अनि किन मान्छे निराश नहुन् ? केही विकास भएको छैन । सबै यु्वाहरु पलायन भए, कामदार छैनन् अब नेपालमा । देश ऋणमा चुर्लुम्म डुबेको छ । ऋण लिएको लिएै छन् । कहाँ जान्छ थाहा छैन,’– उनले भने ।

नागरिक समाजका अगुवा दीक्षितले यो व्यवस्था नै नचलेको दाबी गरे । नेताहरुको कुकर्मले संसदीय व्यवस्था नै कुहिएर गएको उनले बताए । अब कार्यकारीतिर जानुको विकल्प नरहेको उनले बताए । २००७ सालदेखि अहिलेसम्म संसदीय व्यवस्थाको अभ्यास हुँदा यो असफल भइसक्यो भन्ने पुष्टि भएको उनले बताए । लोकतन्त्रभित्रै बाट अर्को विकल्प खोजिनुपर्ने उनले बताए ।

प्रधानमन्त्री वा राष्ट्रपतिलाई प्रत्यक्ष कार्यकारी बनाएर अगाडि बढ्नुपर्ने उनले बताए । वर्तमान व्यवस्थाले भ्रष्टाचारलाई बढवा दिनेभन्दा अर्को काम गर्न नसक्ने उनले बताए ।