काठमाडौँ, १ असार । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीश र एकजना न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ प्रक्रियामा अगाडि बढाएको छ । समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपालयका मुख्य न्यायाधीश शान्तिसिँह थापा तथा न्यायपरिषद्का प्रस्तावित सदस्य महेशकुमार नेपालविरुद्ध कुनै उजुरी भए दिन आह्वान गरेको हो ।
समितिले उनीहरूका विषयमा कुनै उजुरी वा गुनासो भए १० दिनभित्र समितिमा पठाउन भनेको छ । उजुरी सोझै सचिवालय वा इमेलबाट पठाउन सकिने व्यवस्था रहेको छ ।
‘देहाय बमोजिमका व्यक्तिलाई देहाय बमोजिमको पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाण सहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० (दस) दिनभित्र कार्यालय समयमा निम्न ठेगानामा वा सो समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिनुहुन सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’– समितिले जारी गरेको सूचनामा भनिएको छ ।
सूचना दिने सूचनादाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा निजको नाम गोप्य राखिने छ । संसदीय सुनुवाइ समितिको फाइल तस्वीर
प्रतिक्रिया