काठमाडौं, १ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाका सांसदहरुले नाराबाजी गरिरहँदा पनि संसद् चलाउनु विभेद भएको टिप्पणी गरेका छन् ।
उनले भने,‘सम्माननीय सभामुख महोदय, यो संसदमा कुनै अमुक पार्टीले आफ्नो सिटमा उभिँदैमा संसद् अवरुद्ध हुने, संसद् स्थगित हुने अनि अर्को पार्टीले वेलमै नाराबाजी गरिराख्दा संसद् अवरुद्ध नहुने ? यो कस्तो विभेद हो भनेर म जान्न चाहन्छु । सभामुख भनेको तटस्थ भूमिकामा हुनुपर्छ । आज सभामुखको यो व्यवहार हेर्दा मलाई आश्चर्य लागेको छ । म दुःखी पनि छु । सबैको साझा हुनुपर्छ । संसद्को चौथो र पाँचौ ठूलो दलले संसदमा विरोध गरिराख्दा आज सभामुखले जसरी यो व्यवहार गरिराख्नुभएको छ, पहिलापनि संसद्मा नाराबाजी हुँदा संसद् चल्दथ्यो । तर छोटो समयको लागि मात्रै चल्दथ्यो । आज एउटा नयाँ रेकर्ड कायम भयो ।’
उनले दुई तिहाईको सरकारले संसद्लाई शान्त बनाउन नसकेकोमा आलोचना गरे । उनले भने,‘दुई तिहाई भनेको त संख्या मात्रै होइन होला नि, दुई तिहाई भनेको अंक हो कि परीणाम हो ? आज सबभन्दा शक्तिशाली सरकार भन्ने अनि संसद्को यस्तो वातावरणमा छलफल गर्नुपर्ने ? यो भन्दा दुःखदायी अरु के होला ?’
उनले सभामुखलाई संवेदनशिलता छ भने अलिकति चिन्ता लिन आग्रह गरे । उनले प्रश्न गरे,‘के यो संसद् सहज हुनै नसक्ने हो ? के यस्तै चलिराख्छ ?’ उनले संसद्को आजको गतिविधि र दृश्य हेरेर भोजपुरीको कहावत ‘हडबडीके विवाह, कनपट्टीमे सिन्दुर’ सुनाए । उनले अहिले देखिएको सबै काण्डको पछि दुई तिहाईको सरकार रहेको आरोप लगाए ।
उनले भने,‘यो अपवित्र गठबन्धन बनेदेखि नै देशले दुःख पाईरहेको छ । बाहिर हेर्दा एउटै देखिन्छ तर भित्र यो गठबन्धनमा अनेक खालका बखेडा हामीले हेरिरहेका छौं ।’ उनले अख्तियारले भिजिट भिसा प्रकरणमा गरिरहेको अनुसन्धान किन मिडियामा बाहिरियो ? भनेर प्रश्न गरे ।
सांसद साहले विरोध र वेल घेराउबीच सदन चलाएकोमा सभामुख घिमिरेको भूमिकाको खुलेर आलोचना गरे । सभामुख घिमिरेले सो क्रममा साहलाई विषयकेन्द्रित कुरा राख्न निर्देशन दिएका थिए । जवाफममा साहले बजेटको विषयमा बोल्नको लागि आफू छलफलमा भाग लिएको भएपनि बोल्ने वातावरण नभएको बताए । साहले अहिलेको बजेट बिचौलिया खुशी बनाउनको लागि ल्याईएका गम्भीर आरोप लगाए ।
उनले भने,‘अहिलेको यो बजेट बिचौलियालाई खुसी बनाउने खालको छ । बिचौलियाले उत्सव मनाइरहेको छ । नेताहरूको घर–घरमा भोजभतेर गर्दै हिडेँको छन् । नेपाली जनता चिन्तित छन् । नेपाली जनता निराश छन् । यो बजेट कसको लागि आएको हो ? सायद यसैलाई गुमराह बनाउन, यसैलाई ओझेलमा पार्न संसद्को छलफललाई दुषित गरिरहेको छैन भन्ने प्रश्न आएको छ ।’ साहले यो बजेट जनताको पक्षमा नभएको र बिचौलियाको पक्षमा भएको कारण बजेटमाथिको छलफललाई प्रभावित पार्नको लागि संसद्को वातावरण धमिल्याईएको आरोप लगाए ।
तर, साहले अन्तिममा अहिलेको सरकारले देशलाई उजाड बनाएको आरोप लगाए । उनले भने,‘नेपालबाट पैसा विदेश लैजान सहज हुने गरी सरकारले बजेट ल्याएको छ । विदेशमा थुपारिएको कालो धन ल्याउनुपर्नेमा उल्टै यहाँबाट पैसा विदेश लैजान भूमिका खेलेको छ । यो बजेटले नेपालको प्राकृतिक स्रोतको दुरुपयोग गर्नेछ ।। बजेटमाथि अनेकन प्रश्न उठ्न सक्ने भएकाले संसद्को वातावरण बिगारेर धमिलो पानीमा माछा मार्ने प्रयास भएको आरोप लगाए ।




प्रतिक्रिया