काठमाडौं, १ असार । जनता समाजवादी पार्टीका प्रमुख सचेतक डा. वीरेन्द्र प्रसाद महतोले अहिलेको बजेट मुलुकको राष्ट्रिय आकांक्षा पूरा गर्न कोशेढुंगा बन्ने विश्वास व्यक्त गरेका छन् । उनले देशको अर्थतन्त्रका संरचनागत चूनौति र विगतका कमजोरीहरुको अवसरबाट मुक्त गर्न अहिलेको बजेटले प्रेरित गर्नेपनि दाबी गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘म जनता समाजवादी पार्टीको तर्फबाट आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारद्वारा प्रस्तुत बजेट तथा कार्यक्रममा पूर्ण समर्थनसहित स्वागत गर्दछु । यो बजेट मुलुकको राष्ट्रिय आकांक्षा पूरा गर्न कोशेढुंगा बन्ने मेरो विश्वास छ । निजी क्षेत्रको तर्फबाट बजेटको स्वागतसँगै देशको अर्थतन्त्र संरचनागत चूनौति र विगतका कमजोरीहरुको अवसरबाट मुक्त गर्न यसले प्रेरित गरेको छ ।’
महतोले अहिलेको बजेटदे युवालाई केन्द्रमा राखेर नवप्रर्वतनमा जोड दिएको सुनाए । उनले भने,‘यो बजेटले समेटेका मुख्य विषयवस्तुहरू– विशेषगरी युवालाई केन्द्रमा राखी नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमशिलता, स्टार्टअप उद्यमीलाई सीप विकास, व्यवसाय विस्तार, बजारीकरण र मूल्य श्रृंङगलामा आवद्ध गर्न सहुलियतपूर्ण कर्जा कार्यक्रम, तीन प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन रकम विनियोजन, कृषि तथा प्रविधिमा नवप्रवर्तनजस्ता कार्यक्रम– प्रशंसायोग्य छन्। यी योजनाहरूले स्वदेशमै अवसर सिर्जना गर्न र उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्न निर्णायक भूमिका खेल्नेछन्।’
पूर्वमन्त्रीसमेत रहेका डा. महतोले यो बजेटले निजी क्षेत्रसँग सहकार्य गर्दै उत्पादनमूलक उद्योग, ऊर्जा, पूर्वाधार, यातायात र डिजिटल प्रविधिमा आधारित विकासको मोडेललाई अघि सारेको भन्दै प्रशंसा गरे । उनले भने,‘लगानीमैत्री वातावरण निर्माण, पिपिपि मोडललाई प्राथमिकता, तथा सेवाप्रवाहको डिजिटल रूपान्तरणजस्ता पहलहरू देशको दीर्घकालीन आर्थिक उन्नतिको मेरुदण्ड सावित हुने हाम्रो विश्वास छ।’
महतोले आफ्नो दल यस सरकारमा जिम्मेवारीबोध गरेर सहभागी रहेको उल्लेख गर्दै जसपाको नेतृत्वमा रहेका खानेपानी मन्त्रालय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय हासिल गरेका उपलब्धिहरु र आगामी वर्षका लागि तय गरिएका कार्यक्रमहरु यस बजेटको गौरवपूर्ण पक्ष भएको पनि सुनाए ।
उनले भने,‘खानेपानी मन्त्रालयले ग्रामीण तथा शहरी क्षेत्रमा स्वच्छ र सुरक्षित खानेपानीको पहुँच अभिवृद्धि, जलस्रोतको संरक्षण, र खानेपानी आपूर्ति प्रणालीको आधुनिकीकरणमा महत्त्वपूर्ण काम गर्दै आएको छ। नयाँ बजेटले भूगर्भीय स्रोतको व्यवस्थापन, वर्षा पानी संकलन प्रणाली, र जलशुद्धिकरण प्रविधिमा आधारित नवीनतम प्रणालीलाई समावेश गर्दै खानेपानी र सरसफाइ क्षेत्रमा गुणात्मक परिवर्तनको बाटो खोल्ने अपेक्षा गरिएको छ।’
महतोले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले महिला सशक्तीकरण, बाल अधिकार संरक्षण, जेष्ठ नागरिकको सम्मानजनक जीवन र घरेलु हिंसाबाट पीडितहरूको पुनःस्थापनामा उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरे । उनले थपे,‘आगामी वर्षका लागि प्रस्तुत बजेटले महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्ने, बालमैत्री कार्यक्रमहरूलाई संस्थागत बनाउने, र सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने संकल्प गरेको छ, जसको हामी मुक्तकण्ठ प्रशंसा गर्दछौं।’
उनले जनता समाजवादी पार्टी सधैं लोकतान्त्रिक, समाजवादी र समावेशी मूल्यमा आधारित उत्पादनमुखी अर्थतन्त्र निर्माणको पक्षमा दृढतापूर्वक उभिएको बताए । उनले भने,‘यो बजेटले त्यसै दिशामा अग्रसर हुँदै देशका हरेक वर्ग, क्षेत्र र समुदायलाई समेट्ने प्रयास गरेको देखिन्छ। खासगरी पछाडि पारिएका वर्ग, विपन्न नागरिक, महिला, बालबालिका, जेष्ठ नागरिक र युवाहरूका लागि लक्षित कार्यक्रमले सामाजिक न्यायको मूल मर्मलाई सम्बोधन गरेको छ।’
महतोेले कृषि क्षेत्रको व्यवसाीकरण र यान्त्रिकीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि गरिने कुरा सुखद् रहेको टिप्पणी गरे । आगामी दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेशका २२ जिल्लामा चैते धान खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने कुरा राम्रो रहेको भन्दै उनले प्रशंसा गरे । तर, हुलाकी राजमार्गको निर्माण कार्य ढिलासुस्ती भएकोमा भने महतोले गुनासो पोखे । उनले भने,‘आगामी २ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने भनिएको छ । तराई÷मधेशको लाईफलाईन मानिएको यस राजमार्गलाई बजेट अलिक कम विनियोजन किन गरियो ? सरकारले यसमा ध्यान दियोस । धनुषा र सिरहा जोड्ने कमला पूल अलपत्र परेको छ । यसको पूनःनिर्माणमा सरकारले विशेष ध्यान दिनुपर्छ ।’
उनले तराई मधेश समृद्धि तथा स्थानीय पूर्वाधार सहयोग कार्यक्रमलाई निरन्तरता दिईने कुरा महत्वपूर्ण रहेको सुनाए । यस्तै, जनता आवास कार्यक्रमअन्तर्गत एक हजार घर निर्माण र सुरक्षित नागरिक आवासअन्तर्गत ५ हजार घरको फुसको छानो विस्थापन गर्ने भनिएको भएपनि उक्त कार्यक्रमको लागि पर्याप्त बजेट नछुट्याईएकोमा भने महतोले गुनासो पोखे । महतोले बजेटको स्वागत गर्दै भने,‘हामी यो बजेटलाई आर्थिक स्थायित्व, समावेशी समृद्धि र सामाजिक न्यायको आधार बन्नसक्ने दस्तावेजका रूपमा स्वागत गर्दछौं। यस बजेटको सफल कार्यान्वयनमार्फत देशलाई आत्मनिर्भर, स्वाभिमानी र समुन्नत बनाउने दिशामा अघि बढ्ने हाम्रो विश्वास छ।’




प्रतिक्रिया