रास्वपाले यस वर्षको वार्षिकोत्सव विचार मन्थन गरेर मनाउने


काठमाडौं, १ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको वार्षिकोत्सव विचार मन्थन गरेर मनाउने भएको छ । यसअघि दलका नेता, कुटनीतिक नियोगका प्रमुख, समाजका प्रवुद्ध वर्ग, रास्वपा कार्यकर्ता र शुभेच्छुकलाई बोलाएर वार्षिकोत्सव मनाउने गरेको रास्वपाले यस पटक भने फरक तरिकाले मनाउने तयारी गरेको हो । आगामी असार ७ गते रास्वपाको वार्षिकोत्सव हो ।

रास्वपा सभापति रवि लामिछाने हाल रुपन्देही कारागारमा छन् । सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशले उनी थुनामा पुगेका हुन् । रास्वपाको आगामी तेस्रो वार्षिकोत्सवमा सभापति लामिछानेले लेखेर पठाएको शुभकामना सन्देश पढेर सुनाउने कार्यतालिकासमेत रहेको बताइएको छ । तेस्रो वार्षिक उत्सव जावलाखेलस्थित स्टाफ कलेजमा मनाउने तयारी रहेको छ ।

विचार मन्थनमा सुशिला कार्की, भिमार्जुन आचार्य, कृष्ण खनाल र दिपेन्द्र झा, गुणाकर भट्ट, प्रकाश श्रेष्ठ, शेखर गोल्छा, स्मृति शर्मा र सुरेन्द्र लाभलगायत सहभागी हुने बताइएको छ । कार्यक्रमलाई विभिन्न सेसनमा विभाजन गरिएको छ । File Photo/RN