काठमाडौं, १ असार । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सत्तारुढ दलहरुको तर्फबाट माओवादीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धम्की आउने गरेको बताएका छन् । आज (आइतबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता पुनले सत्तारुढ दलका नेताहरुबाट ‘फाइल खोलिन्छ, अख्तियार लगाइन्छ, सम्पत्ति सुद्धीकरणमा हालिदिन्छौं, सीआईबी लगाइदिन्छौं’ लगायतका धम्कीहरु आउने गरेको बताएका हुन् ।
नेता पुनले सत्तारुढ दलका नेता र सरकारमा रहेकाहरुको धम्कीबाट आफूहरु कति पनि नडराएको र विचलित समेत नभएको बताए । उनले भिजिट भिसा प्रकरण अग्नि सापकोटाको मुद्दासँग साटियो भनिनुमा कुनै सत्यता नरहेको बताए । माओवादीले सबै चुनौतिहरुलाई सशक्त रुपमा प्रतिवाद गर्ने उनले बताए ।
‘नियतमा हाम्रो केही छैन । अग्नि सापकोटासँग साटियो भन्ने होइन । कहीँ प्रसंग नै उठेको छैन । माओवादी डराएको छैन । यो सरकार बनेदेखि नै हामी विचौलियाले बनायो, विचौलियाले चलायो, विचौलियाको स्वार्थमा भनेका छौं । प्रधानमन्त्रीजीकै तहमा गठबन्धनको सरकारमा रहेका माथिल्लो तहका साथीहरुबाटै हामीलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपबाट धम्की दिने, फाइल खोलिन्छन्, सम्पत्ति सुद्धीकरण, अख्तियार, सीआईबी लगाइन्छ भन्ने धम्कीहरु आइराखेको छ । हामी डराएका छैनौं । हामी डराउँदैनौं । हामी जनताको कुरा उठाइराख्छौं,’– उनले भने ।
प्रतिक्रिया