पार्टीको ११औं महधिवेशनमा ओलीलाई रोक्ने योगेशको खुलासा, विद्या भण्डारीलाई कसैले छेक्न नसक्ने दाबी


काठमाडौं, ३ चैत । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको इच्छाशक्तिले मात्रै ११औं महाधिवेशनमा अध्यक्ष बन्न सम्भव नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीको ११औं महाधिवेशनमा ओलीको इच्छाशक्तिलाई जित्ने अर्को परिस्थिति बन्ने बताएका हुन् ।

‘उहाँको इच्छाशक्तिलाई सलाम छ । उहाँको इच्छाशक्ति बलियो छ, त्यसकारण त्यो भनिरहनुभएको छ । तर, उहाँको इच्छाशक्तिलाई जित्ने अर्को कुनै परिस्थिति हुन्छ क्या फेरि । इच्छाशक्तिले मात्रै हुँदैन नि । इच्छाशक्तिले त मान्छे दुई वर्ष पनि जीवित रहन खोज्छ । तर, हुँदैन नि,’– उनले भने ।

साथै, पार्टीको ११औं महाधिवेशनको फ्रन्ट लाइनमा केपी शर्मा ओली र विद्या भण्डारी देखिए पनि अध्यक्ष तेस्रो व्यक्ति हुन सक्ने उनको दाबी छ । प्रतिस्पर्धाबाट अध्यक्ष चुनिएको खण्डमा ओली र भण्डारीभन्दा बाहिरबाट चुनिने उनले बताए ।

‘तपाईँले अहिले फ्रन्ट लाइनमा केपी शर्मा ओली र विद्या भण्डारी देख्नुभयो । उहाँहरु दुवै नभएर तेस्रो पनि हुनसक्छ । सहमति भएन भने निर्वाचनबाट तेस्रो व्यक्ति पनि अध्यक्ष हुनसक्छ,’– उनले भने ।

साथै, विद्या भण्डारीले एमालेको राजनीतिमा फर्किन चाहेमा रोक्न सक्ने तागत कसैसँग नरहेको उनले बताए । ‘पूर्वराष्ट्रपति फेरि राजनीतिमा फर्किनुहुन्छ कि फर्किन हुँदैन भन्ने बहस छ । यो वहस आफ्नो ठाउँमा छ । कुनै यस्तै हुन्छ भन्ने कुराको स्ट्यान्डर्ड मापन गर्ने केही पनि आधार छैन । यो नेपालको सन्दर्भमा विलकूल नयाँ अभ्यास पनि होला । कतिपयले होइन नआउँ, त्यो सम्मानित पोस्ट हो भनेका छन् । कतिपयले सक्रिय राजनीतिक जीवनमा अगाडि बढ्ने कुरामा यसले रोक्दैन भनेका छन् । त्यो प्रश्नको हल हामी गरौंला । विद्या भण्डारीजीले म एमालेको सक्रिय राजनीतिमा फर्किन्छु, आउँछु भन्नुभयो भने रोक्न सकिन्छ त ? छेक्न सकिन्छ त ?’ प्रश्न गर्दै उनले भने ।

अरु कुनै आपतकालीन स्थिति आइनलागेको खण्डमा एमालेको विधान महाधिवेशन भदौमा हुने उनले बताए । विधान महाधिवेशनले विधान, नीति र कार्यक्रमहरु बनाउने उनले बताए ।