चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठक सुरु


काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठक सोमबार बिहान बेइजिङमा सुरु भएको छ। 

सीपीसी केन्द्रीय समितिका महासचिव सी चिनफिङले पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका तर्फबाट कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका छन्। साथै उनले दृढताका साथ पूर्ण र कठोर पार्टी स्व-अनुशासन सुदृढ गर्ने सम्बन्धमा सीपीसी केन्द्रीय समितिको प्रमुख निर्णयको मस्यौदामाथि स्पष्ट पारेका छन्।

यसअघि बसेको राजनीतिक ब्युरोको बैठकले समीक्षाका लागि पूर्ण बैठकमा पेस गर्ने निर्णय गरेको दस्ताबेज अनुसार निर्णयको मस्यौदाले नयाँ युगमा पूर्ण र कठोर पार्टी स्व-अनुशासनका उपलब्धि र अनुभवहरूलाई तथ्यपरक रूपमा प्रस्तुत गरेको छ। 

यसले वर्तमान र आउँदो केही समयका लागि पार्टी निर्माणसँग सम्बन्धित स्थिति र कार्यहरूको गहन विश्लेषण गर्नुका साथै दृढताका साथ पूर्ण र कठोर पार्टी स्व-अनुशासन सुदृढ गर्ने रणनीतिक योजनाहरू अघि सारेको छ ।

बैठकको कार्यसूची तय गर्ने असारको राजनीतिक ब्युरो बैठकले सन् २०१२ मा भएको १८ औँ सीपीसी राष्ट्रिय महाधिवेशनयता पूर्ण र कठोर पार्टी स्व-अनुशासनमा महत्त्वपूर्ण प्रगति भएको, शताब्दी पुरानो पार्टीका लागि आत्म-सुधारको नयाँ बाटो खोलेको र पार्टी एवं देशको हितमा ऐतिहासिक उपलब्धि तथा रूपान्तरणहरू ल्याएको बताएको थियो।

उक्त बैठकले बलियो पार्टी र देश निर्माणका लागि पार्टी र जनताले ऐतिहासिक पहलकदमी जितेको बताए पनि विश्वमा, चीनभित्र र पार्टीभित्र गहन परिवर्तनहरू भइरहेकाले पूर्ण र कठोर पार्टी स्व-अनुशासन लागू गर्ने प्रयासहरूले धेरै नयाँ परिस्थिति र चुनौतीहरूको सामना गरिरहेको उल्लेख गरेको छ। 

बैठकले नयाँ युगमा पूर्ण र कठोर पार्टी स्व-अनुशासनका बहुमूल्य अनुभवहरूलाई कायम राख्न र प्रयोग गर्न उच्च मापदण्ड अपनाउन तथा थप ठोस उपायहरू अवलम्बन गर्न आह्वान गरेको छ। साथै पार्टी निर्माणमा देखिएका प्रमुख समस्याहरू समाधान गर्न र पार्टीको स्व-अनुगमन एवं स्व-अनुशासनमार्फत सिर्जित स्वस्थ राजनीतिक वातावरणलाई सुदृढ र विकास गर्न पनि आग्रह गरिएको छ। एजेन्सी