काठमाडौं, ३ असार । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ती जारी गरी भोलि (बुधबार) विहान ८ः३० बजे बस्नेगरि बैठक बोलाईएको जानकारी गराएका छन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरुको उपस्थिति रहने जनाईएको छ । कांग्रेसले डाकेको आकस्मिक बैठकको प्रभाव गृह मन्त्रालयमा परेको छ । गृहको कर्मचारी संयन्त्रमा गृहमन्त्री रमेश लेखकको राजीनामाको लागि बैठक बोलाइएको गाइँगुइँ सुरु भएको छ ।
भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलागयतले गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरुद्ध गरिरहेका छन् । प्रतिपक्षी दल राप्रपा र रास्वपाको अवरोधका कारण आज पनि सदन चल्न सकेन । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिएर निष्पक्ष छानविनमा सघाउनुपर्ने प्रतिपक्षी दलहरुको माग छ ।
यसअघि नेकपा (माओवादी केन्द्र) ले पनि गृहमन्त्री लेखकको राजीनामा माग गर्दै आइरहेको थियो । माओवादी भने गृहमन्त्रीको राजीनामाबाट ब्याक भइसकेको छ । ‘गृहमन्त्रीज्यूले भोलि पार्टीको बैठकपछि राजीनामा दिने भन्ने मन्त्रालयमा चर्चा छ,’– एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा रिपोर्टर्स नेपालसँग भने ।
प्रतिक्रिया