काठमाडौं, ७ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले भिजिट भिसा प्रकरण र सरुवा बढुवाको विषयलाई लिएर गृहमन्त्रीमाथि नैतिकताको प्रश्न उठेको बताएका छन् । आज (शनिबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भिजिट भिसा प्रकरण र गृह प्रशासनको सरुवा बढुवामा देखिएको विकृति र विसंगति समाधान गर्नका लागि सहमतिअनुसार छानविन समिति बनाएर अगाडि बढ्नुपर्ने बताए ।
‘गृहमन्त्रीज्यूको बारेमा गम्भीर प्रश्न उठेको छ । भिजिट भिसाको सन्दर्भमा आज तपाईँले देखिराख्नुभएको छ र सरुवा बढुवा प्रणालीमा पनि । जुनियरलाई सिनियर, सिनियरलाई जुनियर । यी सबै विषयवस्तुहरुमा यो संसद्ले एउटा छानविन समिति बनाउनुपर्छ भन्ने सहमति छ । आफैं पनि बोल्नुभएको छ, एक महिना किन पर्खिने ? चाँडै गर्दिएर निकास पनि हुन्छ,’– सांसद मोदीले भने ।
उनले आफ्नो निर्वाचन क्षेत्रका जनता भिजिट भिसामा विदेश पुगेको र अहिले सम्पर्कमा आइरहेको बताए । भिजिट भिसा प्रकण र गृह प्रशासनमा देखिएको विकृति, विसंगतिलाई अन्त्य गर्न समिति बनाएर काम गरिनुपर्ने उनले बताए ।
साथै, शिक्षक महासंघसँग सरकारले गरेको प्रतिद्धताको बारेमा उनले प्रश्न उठाए । उनले शिक्षकहरुसँग आगामी असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गराउने गरी सहमति भएकोमा अहिलेसम्म सदनमा नल्याइएको भन्दै आपत्ति जनाए । ‘हामीले जुन तरिकाले शिक्षकहरुसँग वार्ता र संवाद गरेका थियौं, त्यो कार्यान्वयन गर्नु पर्छ कि पर्दैैन ? शिक्षकहरुको उहाँहरुले उठाएका माग पूरा नहुँदा फेरि आन्दोलन भयो भने के हुन्छ ?’ प्रश्न गर्दै उनले भने ।
प्रतिक्रिया