काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यस वर्षको छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित शनिबार जनकपुरधाम जाने भएका छन्।
पार्टीका अनुसार लामिछाने दम्पतीले जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्त्वको गंगासागरमा विधिपूर्वक छठ पर्व मनाउने कार्यक्रम रहेको छ। यसका लागि उनीहरू आजै काठमाडौं हुँदै जनकपुर प्रस्थान गर्ने तयारीमा छन्।
लामिछानेको जनकपुर भ्रमणका क्रममा समन्वय र सहकार्य गर्न रास्वपाले मधेस प्रदेशअन्तर्गतका सबै तहका पदाधिकारी, सांसद, पार्टी सदस्य तथा शुभेच्छुकहरूलाई आग्रह गरेको छ।
पार्टीले सभापतिको कार्यक्रममा उपस्थितिका लागि मधेस प्रदेशका नेता तथा कार्यकर्तालाई अनुरोधसमेत गरेको छ।
यस्तो छ सोमबारसम्मको कार्यक्रम तालिका
कार्तिक २८ गते शनिबार
-दिउँसो १२:१५ बजे सभापतिको स्वागतका लागि जनकपुर विमानस्थलमा उपस्थित हुने।
-दिउँसो १:०० बजे: शुभकामना आदानप्रदान तथा सभापतिबाट सम्बोधन- जनकपुरधाम उद्योग वाणिज्य संघको
सभाहल।
-दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म : सोही स्थानको अर्को सभाहलमा पार्टीका सबै तहका पदाधिकारीसँग सामूहिक भेटघाट तथा अन्तरक्रिया।
-साँझ ५:०० बजे: छठ पर्वको पूजा खरना तथा विधिवत अन्य तयारीका लागि निर्धारित निवासस्थानतर्फ प्रस्थान।
कार्तिक २९ गते आइतबार
-बिहान ७:०० बजेदेखि दिउँसो २:०० बजेसम्म: ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका मठमन्दिरहरूको दर्शन तथा धार्मिक पोखरीहरूको अवलोकन-
१. जानकी मन्दिर, जनकपुरधाम
२. लक्ष्मीनारायण मन्दिर, मुखियापट्टी
३. मठियानी लक्ष्मीनारायण मठ मन्दिर, जलेश्वरनाथ मन्दिर, महोत्तरी
५. रामजानकी मरवा, मुजेलिया ६. धनुषाधाम मन्दिर, धनुषाधाम
-दिउँसो ३ बजे जनकपुरधामस्थित पवित्र गंगासागरमा आयोजना हुने छठ पर्वको पूजाअर्चना तथा धार्मिक अनुष्ठानमा सहभागी हुन निर्धारित घर देखि सहभागी हुने।
कार्तिक ३० गते सोमबार
बिहान ५ बजे उदाउँदो सूर्यलाई अर्घ अर्पण तथा छठ पर्वको विधि अनुष्ठानमा सहभागी
दिउँसो : जनकपुर विमानस्थलबाट बिदाइ तथा प्रस्थान





प्रतिक्रिया