काठमाडौं, ८ असार । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल भएको छ । आज युवा तथा खेलकुद, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ र सहरी विकास मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि छलफल भएको हो ।
आजको बैठकमा सहरी विकास मन्त्रालय र मन्त्री प्रकाशमान सिंहको निकै आलोचनासमेत भएको छ । प्रकाशमानले आफ्ना स्वर्गीय पिता गणेशमानको बदनाम गरेको भन्दै सांसदहरुले टिप्पणी गरेका छन् । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नेता प्रकाशमानले आफ्ना स्वर्गीय पिताको अपमान गरेको र संसद्मा आउँदा पनि मुख छोपेर आउनुपर्ने गरी लज्जित बनाएको बताए ।
‘उहाँ (प्रकाशमान) ले आफ्नै स्वर्गीय पिताको सम्मान गर्नुको सट्टा अपमान गरिराख्नुभएको छ । म भएको भए छ मुख छोपेर आउनुपर्थ्यो, यसरी जुन ढंगको उहाँले काम गर्नुभएको छ,’– नेता साहले भने ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री अमनलाल मोदीले गणेशमानलाई लौहपुरुषको रुपमा स्मरण गरे । गणेशमानले आफ्नो मृत्युपश्चात छोरा मन्त्री भएर आफ्नो नामबाट बजेट हालोस् भनेर कल्पना पनि नगरेको बताए । गणेशमानलाई आफ्नै छोराले आलोचनाको सिकार बनाएको उनको टिप्पणी छ । आफ्नो छोराको यस्तो कार्य देखेर गणेशमानलाई स्वर्गमा पनि चित्त दुखेको हुनसक्ने उनले बताए ।
‘लौहपुरुष गणेशमानलाई हामी राम्रो आदर्श, फरक विचार भए पनि राम्रो तरिकाले मान्छौं । उहाँको मृत्युपश्चात उहाँले सम्झिनु भएको थिएन कि मेरो छोरा मन्त्री भएर मेरै नामबाट बजेट हालोस् । गणेशमान सिंहज्यूले त्यस्तो कल्पना पनि गर्नुभएको थिएन । नाम हालेको छ गणेशमान सिंह, बरु उहाँलाई चाहिँ चित्त दुख्यो होला । आज संसद्मा मजस्तो मान्छेलाई मेरो छोराले आलोचनाको सिकार बनायो भनेर भनिराख्नुभएको जस्तो लाग्छ स्वर्गमा पनि । जताततै गणेशमा सिंह प्रतिष्ठान, आफ्नै वरिपरी हाल्नु्भएको छ,’– उनले भने ।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले गणेशमानको नाममा आफ्ना आसेपासे र भरौटेहरुलाई बजेट छुट्याइएको बताए । सहकारी विकास मन्त्रालयकाले परिभाषाअनुसार बजेट विनियोजन नै नभएको उनको आरोप छ । प्रकाशमानले गणेशमानको नाममा भरौटेहरुलाई पाल्ने, पोस्ने र विचौलियाहरुले कमाइखाने भाँडो बनाएको उनले बताए ।
‘परिभाषाअनुसारकै काम गरिराखेको छैन सहरी विकास मन्त्रालयले । आफ्ना इन्ट्रेष्टका, आफ्ना आसेपासेका लागि, आफ्ना वरिपरीका मान्छेहरुलाई चाहिँ कहाँ–कहाँबाट घुमाएर योजना हाल्न सकिन्छ, जुनसुकै शीर्षकमा पनि योजना थुपारेर आफ्ना भरौटेहरुलाई पाल्ने, पोस्ने र विचौलियाहरुले कमाइखाने भाँडो बनाइएको छ सहकारी विकास मन्त्रालय,’ उनले भने, ‘तपाईँले यो के गर्नुभएको गणेशमानको नाममा करिब–करिब ५७ करोड बजेट, कुनै उत्पादनमुलक काममा होइन । कुनै युवाहरुलाई रोजगारी दिनेखालको कार्यक्रममा होइन । अनुत्पादक संरचनाहरु बनाउने नाममा गणेशमानलाई बदनामा गराउनुभयो तपाईँहरुले । तपाई माफी माग्नुस् यो रोस्ट्रमबाट । गणेशमानको हाइट यस्तो होइन, गणेशमानलाई सबैले सम्मान गर्छन् । तपाईँले अपमान गर्नुभयो ।’
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सहरी विकास मन्त्रालयले खुल्ला ठाउँहरुको संरक्षण गर्ने, हरियाली विस्ता गर्ने, जलवायु अनुकूल आयोजनाहरुलाई प्राथमिकता दिने, सस्तो आवासको व्यवस्था गर्ने, स्मार्ट सिटीको अवधारणालाई अगाडि बढाउनुपर्नेेमा त्यसमा कमी देखिएको बताए ।




प्रतिक्रिया