काठमाडौं, ८ असार । नेपाली कांग्रेस रामेछापका सभापति एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले मन्त्रीहरुको निर्वाचन क्षेत्रमा मात्रै बजेट विनियोजन गरिएको भन्दै आपत्ति जनाएका छन् । आज (आइतबार) प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट लगेको बताएका हुन् । पूर्व राज्यमन्त्रीसमेत रहेका तामाङले प्रकाशमानले काठमाडौंमा ३ करोडका २०७ वटा योजनामा बजेट विनियोजन गरेको बताए ।
उनले प्रकाशमानप्रति कटाक्ष गर्दै भने, ‘प्रकाशमान सिंह हाम्रो सर्वोच्च नेता गणेशमान सिंहको छोरा हुनुहुन्छ । म यहाँलाई काठमाडौं जिल्लामा २०७ वटा तीन करोडको बजेट विनियोजन गरिदिनुभएकोमा रामेछाप जिल्लाको तर्फबाट र नेपाली कांग्रेस रामेछापको तर्फबाट म यहाँलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु ।’
साथै, तीन करोडभन्दा कम बजेट विनियोजन नगर्ने भनिए पनि व्यबहारमा त्यो लागू नभएको भन्दै उनले आपत्ति जनाए । काठमाडौंमा २ लाखबाट २ करोडसम्मका १५० वटा योजनका लागि बजेट विनियोजन रहेको उनले बताए । उनले यस्तो तरिकाले देश नबन्ने टिप्पणी गरे ।
साथै, उपप्रधानमन्त्री पौडेलको निर्वाचन क्षेत्र रहेको जिल्ला रुपन्देहीमा तीन करोडका ७९ वटा योजनाहरु हालिएको उनले बताए । सहकारी विकास मन्त्री र अर्थमन्त्रीबीच मितले चिनो साटेकोजस्तो गरी बजेट साटासाट गरेको उनले टिप्पणी गरे ।
उनले भने, ‘रुपन्देहीमा तीन करोडको बजेट ७९ वटा प्याकेज गएको छ । सहरी विकास मन्त्री र अर्थमन्त्रीबीच मितको चिनो साटेको हो यो ? अरु ७७ जिल्लामा माननीयले जितेको छैन १६५ वटा ? ११० वटा समानुपातिक छैन, के क्याल्कुलेसन गर्नुभएको हो तपाईँहरुले ? यही हो राज्य चलाउने तरिका उपप्रधानमन्त्रीज्यू दुवै जनाको ? चल्छ राजनीति, देश चल्छ, कुन हिसाबले चल्छ देश ? तपाईँहरुमात्रै अघाउनुपर्ने, तपाईँहरुले मात्रै चुनाव जित्नुपर्ने ? तपाईँहरु मात्रै मन्त्री हुनुपर्ने ?’
प्रतिक्रिया