सत्ताले हाम्रो कुरा नसुनेसम्म हामी सत्तापक्षको कुरा सुन्दैनौंः मनिष झा


काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले सत्ताले आफूहरुको कुरा सुन्न तयार नभएसम्म आफूहरुले संसद् बहिस्कार गरिरहने बताएका छन् । आज (आइतबार) संसद् भवन परिसरमा उनले सत्ताले आफूहरुको कुरा नसुनेसम्म सत्ताको कुरा पनि नसुन्ने भनेर सत्तारुढ दल बोल्न थालेपछि बाहिरिएको बताएका हुन् ।

प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसदहरु बोलिरहँदा उभिएर बसेका उनीहरु सत्तारुढ दलको बोल्ने पालोमा बाहिरिएका थिए । हिजोदेखि सत्ता पक्षले बोल्ने बेलामा सदन बहिस्कार गर्न थालेका रास्वपाका नेताहरुले आज पनि सोही प्रक्रियालाई दोहोर्याएका थिए ।

‘सरकारले यो मुद्दा नै होइन, समस्या नै होइन, हामी यसरी नै लुटेर चलाइरहन्छौं भन्ने किसिमको जवाफ दिइराखेको छ । यसको बारेमा आज असीम शाहज्यूले बोल्नुभयो । त्यसपश्चात हामीले विनियोजन विधेयकमा प्रतिपक्षको तर्फबाट बजेटप्रतिको असन्तुष्टिको समयमा सबै सांसदहरुको कुरा सुन्यौं । हामी अगाडि उभिएर विरोध जनाइराख्यौं । र अहिले सत्तापक्षका सांसदहरुले बोल्न थाल्नुभएपछि सत्ताले हाम्रो कुरा सुनेको छैन भने सत्ता पक्षको कुरा पनि हामी सुन्न चाहँदैनौं भनेर हामीले बैठक बहिष्कार गरेका छौं,’– उनले भने ।