तल्लो तहका नागरिकको जीवनस्तर उकास्न कांग्रेसले उदारवादी र पुँजीवादी व्यवस्थाको पक्षपोषण गरिरहेको छः महामन्त्री थापा


काठमाडौं, ८ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरुको जीवनस्तर उकास्ने उदारवादी र पुँजीवादी व्यवस्था भएको बताएका छन् । नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्रीय विभागद्वारा बेलायती संसदीय लोकतन्त्र र लेबर पार्टी सञ्चालन प्रणाली सम्बन्धमा लेबर पार्टीका नेता डा.बच्चुकैलाश कैनीसँगको अन्तरक्रियामा महामन्त्री थापाले नेपाली कांग्रेसले तल्लो तहका नागरिकको जीवनस्तर उकास्न उदारवादी र पुँजीवादी व्यवस्थाका पक्षपोषण गरिरहेको बताएका हुन् ।

‘हामीले खोजेको समुन्नत नेपाल हो, हामी पुँजीवादी अर्थ व्यवस्थामा विश्वास गर्छौं, नाफालाई अपराध मान्दैनौँ, तल्लो तहमा रहेका नागरिकहरुलाई माथि उकास्न चाहन्छौँ, हामीले चाहेको व्यवस्थित प्रणालीमा कसैले पासपोर्ट र लाइसेन्स पाउन राजनीतिक दलको सदस्य हुनुपर्दैन,’ उनले भने ।

नेपालले अनुशरण गरेको प्रणाली भनेको बेलायती संसदीय प्रणाली भएको उल्लेख गर्दै उनले संसदीय प्रणालीमा आफ्नो ठूलो विश्वास रहेको बताए । उनले लेबर पार्टीसँग नेपाली कांग्रेसको भगिनी सम्बन्ध रहेको उल्लेख गर्दै पुराना पार्टीहरु सङ्कटमा भएको अवस्थामा बेलायतमा लेबर पार्टी पनि सङ्कटमा छ भन्ने देखिएको बताए ।

सन् १९९५ मा लेबर पार्टीले बेलायतमा निजी सम्पत्तिको विषय र उदारवादी विषयका कुरामा उत्साहित हुँदै गर्दा आफूहरुले पनि त्यहीँ विषय उठाएको बताए । ‘बेलायतको लेबर पार्टीले तीनवटा निर्वाचन जितेर आफ्नो धार कायम गरेको छ । हामीले पनि २०४८ सालमा जितेपछि उदारवादी नीति ल्याएकै हो, ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य र सडकका क्षेत्रमा पर्याप्त बजेट गएकै हो,’ उनले भने ।