देउवाको धम्कीपछि ‘टेक एण्ड पे’ प्रावधानबाट प्रधानमन्त्री ओली ब्याक भए, अब सच्याईने


काठमाडौं, १० असार । नेपाली कांग्रेसले बजेटमा उर्जासम्बन्धी राखिएको ‘टेक एण्ड पे’ प्रावधान खारेजीको लागि गरेको माग सम्बोधन भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बजेट पारित गरिने अघिल्लो दिन हिजो (सोमबार) अर्थमन्त्री विष्णुप्रसाद पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर विद्युत खरिदसम्बन्धी उक्त प्रावधान हटाउन भनेका थिए ।

त्यो प्रावधान नहटाइए बजेट नै पारित नगर्ने देउवाको चेतावनी बाहिरिएको थियो । देउवाको उक्त चेतावनीपछि प्रधानमन्त्री ओली टेक एण्ड पे को प्रावधान सच्याउन राजी भएका हुन् । दुवै दलका नेताहबीच हिजो सोमबार साँझ नै यसबारेमा सहमति भएको थियो । त्यसपछिमात्रै मन्त्रिपरिषद् बैठक बसेको हो ।

उर्जामन्त्री दीपक खड्काले नै आफूलाई थाहा नै नदिई बजेटमा यो प्रावधान राखिएको भन्दै सार्वजनिक रुपमै आलोचना गरेका थिए । सभापति देउवाले पनि यसमा अडान लिएपछि अन्ततः टेक एण्ड पे को प्रावधान सच्चिने भएको हो । तर, प्रधानमन्त्री ओली र देउवाबीच बजेट संशोधनको सन्देश प्रवाह नहुनेगरि यो प्रावधान सच्याउने समझदारी बनेको कांग्रेसका एक सांसदले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।