संसद्लाई गृहमन्त्रीको सम्बोधन, राप्रपा र रास्वपा चुपचाप


काठमाडौं, १० असार । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । आज (मंगलबार) संसद् सुरुभएलगत्तै सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकलाई बोल्न समय दिएका थिए ।

संसद् बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अध्यागमन र भिजिट भिसाका सम्बन्धमा विगतदेखि नै देखिएका समस्याहरु समाधान गर्न आवश्यक अध्ययन र छानविन गरी नीतिगत, काुननी र संरचनागत सुधार गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताए । उनले अध्यगमन व्यवस्थापनको सन्दर्भमा केही समस्या देखापरेको बताए ।

अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न सरकारले आवश्यक अध्ययन एवं छानविन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस् पहल गर्ने प्रतिवद्धता व्यक्त गर्ने भनि सदनमा भएको सहमति बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा असर नपर्ने गरी कार्यादेश सहितको समिति बनाइएको पनि उनले बताए ।

‘कुनै आज सतहमा आएको होला, कुनै हिजोदेखि नै देखापरेका थिए । समस्याहरु छन् । ती समस्याहरु विगतदेखि नै रहेका, भिजिट भिसाका सम्बन्धमा समेत देखापरेका, अरु पनि समस्याहरु देखा परेका छन् । विदेश प्रस्थान गर्न चाहने नेपाली नागरिक, अथवा नेपाल प्रवेश गर्ने नागरिकको आवतजावतलाई कसरी सहजीकरण गर्ने भन्ने एउटा प्रमुख विषय रहेको छ, भिजिट भिसाको विषय पनि त्यसमा छ । यी सबै विषयहरुको समस्या कसरी समाधान हुनसक्छ भन्ने कुरामा सरकारले गम्भीर रुपले ध्यानाकृष्ट गरेर हिजो एउटा निर्णय गरेका छौं,’– उनले भने ।

पूर्व मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा मन्त्रिपरिषद्ले उच्चस्तरीय समिति गठन गरिएको, सदनभित्र उठेका सबै प्रश्नहरुलाई समेटिएको उनले बताए । समितिले अध्यागमनमा देखा परेका समस्या समाधानको उपाय खोज्ने पनि उनले विश्वास व्यक्त गरे । अहिले तत्काल गर्नुपर्ने सुधारको कामहरु सुरु भइसकेको उनले बताए ।