काठमाडौं, १० असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीलाई उन्मुक्ति दिनेगरी पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानविन समिति बनाइएको आरोप लगाएका छन् । उनले बैरागी नेतृत्वको समितिलाई निगाहमा बनेको समितिको संज्ञा दिएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले बैरागी नेतृत्वको समितिले सत्यतथ्य बाहिर ल्याउने भन्दा पनि अपराधलाई ढाकछोप गर्ने बताए ।
‘पहेँलो हो भन्दैमा पित्तल सुन हुनसक्छ ? कर्मचारीहरुको उच्चस्तरीय छानविन समिति हो भनेर भन्दैगर्दा के यो छानविन समिति हुन सक्छ ? यो त निगाह प्राप्त गरेको, एकैछिनका लागि अझ अपराधलाई कसरी ढाकछोप गर्ने, भिजिट भिसा प्रकरणमा संलग्न भएका यी १४ जना गृहमन्त्रीहरुलाई कसरी उन्मुक्ति दिने भनेर ल्याइएको प्रोपोगाण्डा हो,’– उनले भने ।
नेता शाहीले २०६४ सालका गृहमन्त्री कृष्णप्रसाद सिटौला र अहिलेका गृहमन्त्री रमेश लेखकसम्म १८ वर्ष गृहमन्त्री बनेका १४ जनालाई छानविनको दायरामा ल्याइनुपर्ने आफूहरुको माग यथावत नै रहेको बताए । उनले बैरागी नेतृत्वको समितिलाई ‘दुधको साँछी बिरालो’ को संज्ञा दिए । बैरागीको नेतृत्वमा बनेको छानविन समितिले न्याय दिन नसक्ने उनको भनाइ छ । उनले संख्याको आधारमा भिजिट भिसा प्रकरणजस्तो मुद्दालाई निस्तेज नपार्न आग्रह गरे । गृहमन्त्री लेखकले बनाएको समितिप्रति आफूहरुको आपत्ति रहेको उनले बताए ।
प्रतिक्रिया