काठमाडौं, १८ असार । नेपाल विद्युत प्राधिकरणको नेतृत्वबाट हटाईएको कुलमान घिसिङ राजनीतिमा आउने संकेत देखिएको छ । उनलाई विभिन्न पार्टीमा आउनको लागि आग्रह गरिएको भएपनि अहिलेसम्म उनले कुनैपनि पार्टी प्रवेश गर्ने मनशाय बनाएका छैनन् । कतिपयले उनी आफ्नै नेतृत्वमा नयाँ दल खोल्ने तयारीमा रहेको भनेर पनि लख काटिरहेका छन् ।
कतिपयले माओवादीबाट नै सक्रिय राजनीति गर्नसक्ने भनेका छन् । तर, घिसिङले आफूलाई अहिलेसम्म राजनीतिमा आउने विषयलाई रहस्यको गर्भमा राखेका थिए । तर, हिजो आएको उनको सार्वजनिक सूचनाले उनी छिट्टै सक्रिय राजनीतिमा फर्कने संकेत गरेको छ । उनी मध्यपूर्वी देशहरुको यात्रामा निस्किएका छन् । आगामी २०८४ सालको निर्वाचनलाई ध्यानमा राखेर उनी आफ्नै नेतृत्वमा नयाँ दल खोल्नेगरि लागिपरेको उनीनिकट उच्च स्रोतको दाबी छ ।
मध्यपूर्वी देशहरुको यात्रामा निस्किनुअघि घिसिङले फेशबुकमा लेखेका छन्–
मध्यपूर्वी देशहरु(GCC )मा रहनुभएका प्रिय नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु,
विदेशी भूमिमा पसिना बगाउँदै देशको सपना बोकेर बस्नुभएको तपाईंहरुलाई म टाढाबाट होइन, नजिकबाट सम्झन आउँदै छु । अहिले बहराइन, ओमान, युएई र कतारमा रहनु भएका तपाईंहरुको जीवन, संघर्ष र सपना बुझ्ने तथा मेरा अनुभवहरु साटासाट गर्ने प्रयासस्वरूप म यो भ्रमणमा निस्किएको हुँ । मैले बहराइनमा जुलाई २ देखि ४, युएईमा जुलाई ५ देखि ८, ओमानमा जुलाई ९ देखि १० र कतारमा जुलाई ११ देखि १३ सम्म तपाईसँग भेटघाट गर्दैछु ।
तपाईंहरूको दुःख, आत्मबल र योगदानको मूल्य शब्दले भन्न सकिन्न । म तपाईंहरूसँग प्रत्यक्ष भेटेर भोगाइ सुन्न, अनुभूति साझा गर्न र भावनात्मक रूपमा जोडिन चाहन्छु । तपाईंहरूले जे सहनु भएको छ, त्यसमा हामी सबैको जिम्मेवारी छ भन्ने भावनासहित तपाईंहरू सामु आउँदैछु ।
देशले तपाईंहरूलाई सम्झिएको छ — तपाईंहरूको अभावमा पनि तपाईंहरूका घर, परिवार र देश तपाईंप्रति गर्व गर्छन् । जहाँ हुनुहुन्छ, सुरक्षित, अनुशासित र सकारात्मक रहनुहोस् । तपाईंहरूको माया, प्रेम, विश्वास, सुझाव, र साथ सधैं अमूल्य रहनेछ । file photo




प्रतिक्रिया