रूपन्देही–३ को उपनिर्वाचनमा कुलमानलाई लडाउने प्रचण्डको तयारी, नमाने पासाङलाई अघि बढाउने चर्चा


काठमाडौं, १८ असार । आगामी कार्तिक १७ गते रूपन्देही–३ मा हुने उपनिर्वाचनमा कसलाई अघि बढाउने भन्ने विषयमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आन्तरिक तयारीमा जुटेका छन् । प्रचण्डले नेपाल विद्युत प्राधिकरणको नेतृत्वबाट हटाईएका कुलमान घिसिङलाई नै अघि बढाउने तयारी गरेका छन् ।

तर, कुलमानसँग यो विषयमा छलफल हुन नपाएको प्रचण्डनिकट उच्च स्रोतको दाबी छ । कुलमान यतिवेला आफ्नै नेतृत्वमा छुट्टै दल खोल्ने तयारीमा जुटेको पनि चर्चा छ । उनी यतिवेला मध्यपूर्वी देशहरुको भ्रमणमा छन् । उज्यालो नेपालका नायकको सम्मान पाएका कुलमानलाई कुलमान बनाउनको लागि आफ्नो योगदान रहेको प्रचण्डको दाबी छ ।

आफू प्रधानमन्त्री हुँदा नै कुलमानलाई उचित जिम्मेवारी दिईएको र नेपाल उज्यालो बन्न सफल भएको प्रचण्डको दाबी छ । कुलमानपनि प्रचण्डलाई सम्मान गर्छन् । तर, पछिल्लो समय कुलमान र प्रचण्डबीच पनि निरन्तर भेटवार्ता वा छलफल हुन छोडेको चर्चा छ । गत ०७९ को निर्वाचनमा कांग्रेससँग चुनावी गठबन्धन गर्दा माओवादीले सो क्षेत्र कांग्रेसका बालकृष्ण खाँणलाई छोडेको थियो । तर, खाँण राप्रपाका दीपक बोहोरासँग पराजित भएका थिए ।

खाँण भने गृहमन्त्रीको जिम्मेवारीमा हुँदा बोहोरासँग चुनाव हारेका थिए । बोहोराले ३६ हजार ७ सय १७ मत ल्याएर चुनाव जित्दा खाँण भने ३४ हजार ३६ मत प्राप्त गरेर दोस्रो भएका थिए । पछिल्लो समय प्रचण्डले माओवादीप्रति जनविश्वास बढेको भन्दै ०८४ को निर्वाचनमा ०६४ को जस्तै लहर आउने दाबी गरिरहेका छन् । त्यसको लागि यो उपनिर्वाचन एउटा टेष्ट केश हुनसक्ने उनको बुझाई छ ।

सकेसम्म उनले आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा रुपन्देही–३ बाट कुलमान घिसिङलाई चुनाव उठाउने सोच बनाएको चर्चा छ । तर, कुलमानले नमाने भर्खरै सक्रिय राजनीतिमा प्रवेश गरेका पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ लाई पनि अघि बढाउनसक्ने चर्चा चलिरहेको छ ।

कांग्रेसले यसअघि पराजित भएका बालकृण खाँणलाई नै अघि बढाउने चर्चा छ । उता, सरकारको नेतृत्व गरेको दल नेकपा (एमाले) ले भने खिमलाल भट्टराईलाई अघि सार्ने भएको छ । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि उपनिर्वाचनकेन्द्रित छलफल थालेको छ । सागर ढकालले सो क्षेत्रबाट उम्मेद्वारी दिने संकेत गरेका छन् ।

०७९ को निर्वाचनमा डेलधुराबाट चुनाव लडेका ढकाल स्वतन्त्र उम्मेदवार थिए । उनले १३ हजार ४२ मत पाएका थिए । शेरबहादुर देउवाले भने भने २५ हजार ५ सय ३४ मत प्राप्त गरेका थिए । उनीहरुबीच १२ हजारको मतान्तर थियो ।

अहिले रुपन्देही–३ मा उपनिर्वाचनको मिति तोकिएसँगै ढकालले सोही क्षेत्रबाट आफूले प्रतिष्पर्धा गर्ने संकेत गरेका छन् । उनले रुपन्देही ३ मा नेपालको इतिहास रच्न तयार हुनुहुन्छ भन्दै जनतालाई प्रश्न गरेका छन् । रास्वपाले भने उनलाई टिकट दिने वा नदिने भन्नेबारे अहिलेसम्म केही खुलासा गरेको छैन । रास्वपाका सभापति रवि लामिछाने यतिवेला हिरासतमा छन् । ढकालले टिकट पाउने वा नपाउने भन्ने विषय लामिछानेसँग उनीनिकट नेताहरुले गर्ने सल्लाहपछि लिईने निर्णयमा भर पर्छ ।