काठमाडौं, १९ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रभावशाली नेता तथा सांसद सर्वेन्द्रनाथ शुक्लाले चिनियाँ दूतावासको सहयोगमा विद्यालयमा खानेपानी वितरण गरिएको विषयमा प्रश्न उठाएका छन् । चिनियाँ सरकारले मधेश प्रदेशका विद्यालयमा खानेपानी लिएर गएको विषयमा उनले यो त्यो राज्यको कमजोरी भएको टिप्पणी गरे । उनले भने,‘चीनले पानी परियोजना लिएर जानै हुँदैन त म भन्दिनँ, तर त्यो राज्यको कमजोरी हो । त्यो त राज्यको अक्षमता हो ।’
नेपालस्थित् चिनियाँ दूतावासको सहयोगमा मधेश प्रदेशको धनुषामा हालै ‘स्वच्छ पानी अभियान’ उद्घाटन गरिएको थियो । स्थानीय विद्यालय र समूदायमा स्वच्छ खानेपानीको सुनिश्चित्ताको लागि यस्तो अभियान चलाईएको भनिएको छ ।
तर, शुक्लाले चीन सरकारले पानी दिएपनि प्रदेश सरकारलाई जिम्मा दिनुपर्ने सुझाव दिए । सिधै विद्यालयमा गएर वितरण गरिने कुरा चिनियाँ सरकारको अधिकारबाहिरको कुरा भएको उनको टिप्पणी छ ।उनले भने,‘यो त प्रदेश सरकारको जिम्माको कुरा हो, पानी दिने हो भने प्रदेश सरकारलाई जिम्मा दिनुपर्छ, स्कुलमा गएर बाँड्ने चिनियाँ सरकारको अधिकारको बाहिरको कुरा हो । चिनियाँ सरकार, राजदूत वा चीन वा कुनै देशको अन्य संयन्त्रले स्कुलमा गएर बाँड्नु हुँदैन, संघीय सरकार र परराष्ट्र मन्त्रालयसँग अनुमति लिएर वितरण गर्ने कुरा हो, तर सोझै गएर बाँडेको हो भने प्रदेश सरकारको लागि लाजमर्दो विषय हो ।’
संघीय निजामती सेवासम्बन्धी विद्येयकमा लडेर २ वर्षको कुलिङ पिरियडको प्रावधान राखिएको बताएका छन् । कुलिङ पिरियडमा भएको बदमासीको विषयमा छानबिन समिति बनाउनुपर्ने आफूहरुको माग रहेको उनको भनाई छ । आज (बिहीबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले कुलिङ पिरियड राखिएको विषयमा कसले गल्ती गरेको हो भन्ने विषयमा सत्य, तथ्य बाहिर आउनुपर्नेमा जोड दिए ।
यो प्रकरणमा आफूहरुले सभापति रामहरि खतिवडाको राजीनामा नमागेको पनि उनले स्पष्ट पारे । उनले भने,‘छानबिन हुनुपर्छ, जो दोषी छ उसलाई कारबाही हुनुपर्छ । जबसम्म उहाँ दोषी देखिनुभएको छैन, आँखा चिम्लेर राजीनामा माग्ने कुरामा हाम्रो पार्टी रहँदैन् ।’ उनले अहिलेको कांग्रेस–एमालेसहितको सत्ता गठबन्धनको विकल्प अर्को गठबन्धन नहुने बताए । यसको विकल्पमा अर्को गठबन्धन बनाईए त्यो कमजोर गठबन्धन हुने उनको भनाई छ ।
उनले भने,‘यो गठबन्धनमा कमजोरीहरु छन् । तर, योभन्दा राम्रो विकल्प अर्को हुन सक्दैन । त्रुटिहरु भएका छन् । तर, योभन्दा राम्रो गठबन्धन बन्नसक्ने अवस्थामा देशमा छैन् । त्यसैले यो गठबन्धन चल्छ । विकल्प खोजिएला वा बनाईएला, तर योभन्दा अर्को राम्रो विकल्प बन्दैन ।’ अब राजनीतिक अस्थिरता ल्याउने कामतिर देशलाई जान दिन नहुने उनको भनाई छ ।
प्रतिक्रिया