समृद्ध नेपाल निर्माणका लागि सरकार,निजी क्षेत्र र समाजबीचकाे सहकार्य आवश्यक छ: राष्ट्रपति


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माणका लागि सरकार, निजी क्षेत्र र समाजबीचको सहकार्य आवश्यक रहेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी तथा सदस्यसँगको भेटमा उनले आर्थिक विकास, रोजगारी सिर्जना र उत्पादन वृद्धिका लागि निजी क्षेत्रलाई अझ जिम्मेवार र नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरे।

राष्ट्रपति पौडेलले सरकारले नीतिगत स्थिरता, लगानी सुरक्षा र व्यवसायमैत्री वातावरण बनाउनुपर्ने तथा निजी क्षेत्रले लगानी, उत्पादन, उद्यमशीलता र रोजगारी विस्तारमा जोड दिनुपर्ने बताए।

उनले जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा उपलब्ध सम्भावनाको उपयोग गर्दै निर्यात प्रवर्द्धन र युवा जनशक्तिका लागि स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।

डिजिटल रूपान्तरणसँगै नेपाली उत्पादन र सेवाको अन्तर्राष्ट्रिय बजार विस्तारमा महासङ्घले नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले पछिल्लो प्राकृतिक विपद्मा महासङ्घले गरेको सहयोगको समेत प्रशंसा गरे।