प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् पूनर्गठनको तयारी, जसपा र लोसपाबाट मन्त्रीहरू फेरिँदै


काठमाडौं, १९ असार । प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला स्पेन भ्रमणमा छन् । औपचारिक कार्यक्रम सकेर उनी भोलि स्वदेश फर्किने भनिएको छ। प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् पूनर्गठन गरिने चर्चा छ । सत्ता सहयात्री दल नेपाली कांग्रेसभित्र पनि केही मन्त्रीहरु फिर्ता बोलाउने र नयाँ पठाउने तयारी गरेको छ । यो विषय अहिले कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा समेत उठेको छ ।

प्रधानमन्त्री ओलीले पछिल्लो पटक सरकारको नेतृत्व गरेको एक वर्ष पुग्न लागेको छ । सरकारमा सहभागी दल लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीले आफ्नो तर्फबाट एक वर्षको लागि मात्रै मन्त्रीहरु पठाएको भनिएको छ । लोसपाबाट यतिवेला शरदसिंह भण्डारी श्रम मन्त्रालयको नेतृत्वमा छन् । उनलाई फिर्ता बोलाएर अब सर्वेन्द्रनाथ शक्ुलालाई पठाउने भनिएको छ। अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओली फर्किएपछि यो विषयमा छलफल गर्ने भएका छन् ।

यस्तै, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलेपनि एक वर्षको लागि मात्रै मन्त्रीहरु सरकारमा पठाएको छ । अहिले प्रदीप यादव र नवलकिशोर सुडी ओली सरकारमा सहभागी छिन् । उनीहरु यसअघिको सरकारमा समेत चार महिना मन्त्रीकै जिम्मेवारीमा थिए । यादव स्वास्थ्यमन्त्री थिए भने सुडी वनमन्त्री थिए ।

लोसपा र जसपाले आफ्ना मन्त्रीहरु एक वर्षको लागि पठाएको चर्चा छ । यता, कांग्रेस र एमालेले पनि कार्यसम्पादन कमजोर भएका र विवादमा तानिएका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ सेट पठाउने चर्चा छ । तर, यसको लागि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल हुनुपर्नेछ । file photo