प्रधानमन्त्री ओली स्वदेश फिर्ता


काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिन लामो स्पेन भ्रमण सकेर स्वदेश फर्किएका छन् । युएनको फाइनान्सिङ फर डेभलपमेण्टको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एकनारायण अर्यालले स्वागत गरे ।

त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले उनीप्रति सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थमा उच्चपदस्थ सरकारी अधिकृत एवं सुरक्षा निकायका प्रमुख विमानस्थल पुगेका थिए ।

उनी यही असार १४ गते साँझ स्पेन गएका थिए । स्पेन बसाईको क्रममा उनले महत्वपूर्ण भेटवार्तासमेत गरेका थिए । मेड्रिड शहरमा रहेको रियल मड्रिड क्लबको स्टेडियम सान्टियागो बर्नबाउको पनि अवलोक गरेका थिए । अन्तिम दिन उनी स्पेनमा रहेको नेपाली दूतावासमा सरिक भएर स्वदेश फर्किएका हुन् ।