विद्या भण्डारीलाई हामीले सक्रिय राजनीतिमा आउनुस् भनेको होइनः युवराज ज्ञवाली (भिडिओसहित)


काठमाडौं, २१ असार । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आगामी महाधिवेशनबाट विद्यादेवी भण्डारी पार्टीको अध्यक्ष बन्न सक्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले महाधिवेशनले नै कसलाई अध्यक्ष बनाउने भन्ने टुङ्गो लगाउने बताएका हुन् ।

‘विधानले रोक्दैन । अब महाधिवेशनको प्रतिनिधिले चुनेपछि उहाँ अध्यक्ष बन्न सक्नुहुन्छ । महाधिवेशनले जसलाई अध्यक्ष बनाउँछ, ऊ नै अध्यक्ष हुन्छ,’– उनले भने ।

साथै, आफूहरुले विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन नभनेको उनले बताए । ‘हामीले ल्याएको हो र ? उहाँ सक्रिय बन्छु भन्नुभएको हो,’– उनलेभ ने ।

साथै, उनले एमालेमा अहिले ७० वर्षे उमेर हद स्थगित रहेको बताए । उनले दुई कार्यकालको विषय पनि एमालेमा अहिले नरहेको बताए । अबको भदौमा हुने विधान महाधिवेशनमा यसबारेमा थप निर्णय लिइने उनले बताए ।

‘नवौं महाधिवेशन र विधान महाधिवेशनबाट एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी प्रमुख पदमा या पदाधिकारी बन्न पाउँदैन भन्ने व्यवस्था हो । १०औं महाधिवेशनमा गएर नयाँ विधान बनेको छ । त्यसमा संशोधन भएको छ, त्यसमा त्यो कुरा हटेको छ । अब यो विधान महाधिवेशनमा के गर्ने भन्ने कुरा पहिला हामी विधान बनाउँछौं । विधान बनाउदाखेरी नै ७० वर्षे उमेरको कुरा के गर्ने, दुई कार्यकालको कुरा के गर्ने हामी विधान महाधिवेशनमा टुङगो लगाउँछौं,’– उनले भने ।