काठमाडौं, २१ असार । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले रुपन्देही–३ को उपनिर्वाचनमा संघीय लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार उठाउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अगामी उपनिर्वाचनमा मोर्चाबाट साझा उम्मेदवार उठाइने र रुपन्देही–३ मा नागरिक उन्मुक्ति पार्टीलाई दिईने लगभग सहमति भइसकेको बताएका हुन् ।
‘रुपन्देहीमा उपनिर्वाचन हुन गइरहेको छ संघीय संसद्को । त्यसमा संयुक्त उम्मेदवारी दिने तयारी रहेको छ । छलफलमा भए पनि नागरिक उन्मुक्ति पार्टीले नै पाउने सम्भावना प्रवल छ । उसको दाबी पनि छ र करिब–करिब मोर्चाभित्र सहमति पनि छ,’– उनले भने ।
रुपन्देही–३ मा नाउपाको दाबीसमेत रहेको र मोर्चाका नेताहरुले लगभग नाउपाबाट उम्मेदवार उठाउने सन्दर्भमा सहमति जनाइसकेको उनले बताए । ‘एक दुई वटा बैठकपछि घोषणा होला । तर, मोटामोटी सहमति भइसकेको अवस्था हो,’– उनले भने ।
प्रतिनिधि सभा सदस्य चयनका लागि रुपन्देही ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । २०७९ को निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुने भएको हो ।
प्रतिक्रिया