काठमाडौं, २१ असार । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले कांग्रेस–एमालेसहितको गठबन्धन सरकार संविधान संशोधनको मुद्दाबाट विमुख भइसकेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै त्रिपाठीले यस्तो बताएका हुन् । उनले एकथान सरकार बनाउनकै लागि कांग्रेस–एमालेको गठबन्धन बनाउन आवश्यक नरहेको उनको दाबी छ ।
‘संविधानको अभ्यास गर्दा देखिएका जुन अप्ठ्याराहरु छन्, अथवा कानुन निर्माण गर्दा देखिएका अप्ठ्याराहरु छन् । तिनलाई फुकाउनका लागि यो गठबन्धन बनेको हामीले बुझेका हौं । तर, त्यतातिर कुनै चर्चा छैन । संविधान संशोधनमा के–के गर्नुपर्छ ? समीक्षा गर्दै संशोधन अगाडि बढाउन पर्छ भन्ने कुरामा त्यतातर्फ अलिकति पनि सोचेको देखिएन,’– उनले भने ।
संसद्का दुई ठूला दलले सरकार बनाउने अभ्यास संसदीय इतिहासमा विरलै हुने पनि उनले बताए । कांग्रेस–एमालेको सरकार बनाउने सात बुँदेसहमतिमा सबैभन्दा प्रमुख बुँदा नै संविधान संशोधन रहेको भए पनि त्यसतर्फ चर्चा नै नभएको उनले बताए ।
साथै, वर्तमान सत्ता गठबन्धनको सरकार दम्भको आधारमा चलिरहेको पनि उनको आरोप छ । उनले भने, ‘यो संसद् भनेको त के हो र ? हामी दुईवटा दल मिलेका छौं । जे चाहन्छौं, त्यही गर्छौं भन्ने दम्भले अहिले काम गरिरहेको छ । सरकार सञ्चालन, चाहे त्यो संसद् सञ्चालन या संवैधानिक निकायका नियुक्तिहरुमा ।’ File Photo/RN
प्रतिक्रिया