काठमाडौं, २१ असार । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टी केन्द्रीय समितिको बैठकमा काम गर्न नसकेका मन्त्रीहरुलाई फिर्ता बोलाउने बारे चर्चा भएको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले काम गर्न नसकेकाहरुलाई फिर्ता बोलाउनुपर्ने कुरा उठेको बताएका हुन् ।
‘कुरा राख्ने क्रममा साथीहरुले मन्त्रीहरुले काम गर्न सकेनन्, काम गर्न नसकेकाहरुलाई फिर्ता बोलाउँदा पनि हुन्छ भनेर केही साथीहरुले कुरा राख्नुभएको थियो,’– उनले भने ।
पार्टी केन्द्रीय समिति बैठकमा सरकार नै परिवर्तनको कुरा नउठे पनि सुशासन दिनुपर्यो, ढिलासुस्ती भयो, जनताले दुःख पाए, काममा भनसुन नै गर्नुपर्ने जस्ता समस्या देखिएको भनेर छलफल भएको उनले बताए ।
फरक प्रसंगमा नेता भट्टराईले संविधानमा अहिलेको निर्वाचन प्रणाली कायम राखेसम्म यसले डेमोक्रेशीलाई बदनाम गराइराख्ने बताए । वर्तमान निर्वाचन प्रणालीले अस्थिरता, अनियमितता र भ्रष्टाचारमा बढवा दिइरहेको उनको आरोप छ । संविधानमा उल्लेख रहेको निर्वाचन प्रणालीको संशोधनमा जानुको विकल्प नरहेको उनले बताए ।
‘निर्वाचन प्रणालीलाई हामीले यथावत राख्यौं भने अस्थिरताको समस्यबाट हामी बाहिर निस्किन सक्दैनौं भन्ने निष्कर्षमा हाम्रो पार्टी छ । सरकार बन्दा पनि सात बुँदेमा त्यो राखिएको विषय हो,’– उनले भने ।
प्रतिक्रिया