काठमाडौं, २२ असार । नेकपा (एमाले) का सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी अध्यक्ष केपी शर्मा ओलीकै सहमति र प्रस्तावमा सक्रिय राजनीतिमा आउने बताएका छन् । आज (आइतबार) जनकपुरधाम सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै महासेठले ओली र भण्डारीबीचमा कुनै अन्तरविरोध नरहेको बताएका हुन् ।
‘अध्यक्ष र पूर्वराष्ट्रपतिको बीचमा कुनै अन्तरविरोध छैन । यदि उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षकै सहमति र प्रस्तावमा उहाँ आउनुहुन्छ,’– उनले भने ।
सचिव महासेठले भण्डारीले अहिले पार्टीको सदस्यता नवीकरण गर्ने बाहेक अरु कुनै गतिविधि नगरेको र कसरी अगाडि बढ्ने भन्ने कुरासमेत आइनसकेको उनले बताए । पार्टी अध्यक्ष ओली र भण्डारीको बीचमा अन्तरविरोध बढेको भनी आइरहेका समाचारहरुमा कुनै सत्यता नरहेको उनले बताए ।
‘उहाँले नवीकरणमात्रै गर्नुभएको छ । म सक्रिय राजनीतिमा आउछु भन्नुभएको छ । तर, कसरी अगाडि बढ्ने केही कुरा गर्नुभएको छैन । अहिले जुन प्रकारले बजार हल्ला छ कि अब पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमा अन्तरविरोध बढिरहेको छ, कार्यकर्ताहरु कित्ताकाट भइरहेका छन् भन्ने समाचारहरु आइरहेका छन् । यसमा कुनै पनि सत्यता छैन,’– उनले भने ।
साथै, संविधानले पूर्वराष्ट्रपतिहरु राजनीतिमा आउन हुँदैन भनेर बन्देज नगरेको र एमालेको विधानले समेत नरोकेको उनले बताए । File Photo/RN




प्रतिक्रिया