काठमाडौं, २२ असार । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा आज पार्टीका सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता बेदुराम भुसाल, महासचिव घनश्याम भुसाललगायतले आ–आफ्नो धारणा राख्ने क्रम सकिएको छ । एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाका अनुसार आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संगठनात्मक विषयवस्तु र आन्दोलनको समीक्षा, अगामी कार्यक्रम कसरी लैजाने भन्नेबारेमा नेताहरुले धारणा राखेका थिए ।
उपाध्यक्ष एवं प्रवक्ता ज्वालाका अनुसार नेताहरुले आफ्ना–आफ्ना धारणा राखिसकेका छन् । अब २४ गते बस्ने बैठकले नेताहरुको धारणाबारे निष्कर्षमा पुगेर निर्णय लिनेछ । ‘धारणाहरुलाई निष्कर्ष निकाल्न र बैठक सक्नको लागि २४ गते ११ बजे बैठक तय भएको छ । २४ गते बस्ने बैठकले समग्र धारणालाई समेटेर निष्कर्ष निकाल्ने छ र निष्कर्षको आधारमा पार्टीले आवश्यक निर्णयहरु गर्नेछ,’– उपाध्यक्ष एवं प्रवक्ता ज्वालाले भने ।
‘रामकुमारी झाँक्रीको बारेमा छलफल भयो कि भएन ?’ भन्ने प्रश्नमा उनले व्यक्ति विशेषको बारे बैठकमा कुनै छलफल नभएको बताए । उनले भने, ‘एउटा कुनै व्यक्तिको बारेमा हाम्रो बैठकमा एजेण्डा बनेको छैन । पार्टीको सचिवालय बैठकमा राष्ट्रिय राजनीति, समसामयिक विषयवस्तुहरु, आन्दोलनको विषयमा, संगठनात्मक सवालमा एजेण्डाहरु छन् । समग्रमा नेताहरुले आफ्नो कुरा राख्नुभएको छ ।’
प्रतिक्रिया