काठमाडौं, १७ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा क्षेत्री सरकारमाथि दाग लगाउने छुट कुनै पनि मन्त्रीलाई नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आरोप लागेका मन्त्रीहरुले मार्ग प्रशस्त गरेर सरकारलाई स्वच्छ राख्नुपर्ने बताएका हुन् । उनले सरकार र गठबन्धनले बदनामीको भारी बोक्न नसक्ने बताए ।
‘आरोप लागेको बारेमा त्यसको सफाइ दिने, छानविनका निम्ति मार्ग प्रशस्त गर्ने आदिइत्यादी सम्बन्धित व्यक्तिको कुरा हो । यो प्रमाणित कुरा होइन । प्रचारित कुरा केही होइन, म यो पनि दाबी गर्दिनँ । प्रचारित भएका कुरा सत्य हो, त्यस आधारमा सजाय भोग्नुपर्छ, ठिँगुर्याउनुपर्छ म यो पनि भन्दिन । कुरा के हो भने सरकारको बारेका कुनै दाग लाग्न हुँदैन । बदनामीको कुनै भारी सरकारले, गठबन्धनले खेप्नु हुँदैन । कुनै औंलामा घाउँ लाग्छ भने, औंला फालेर हात जोगाउनुपर्छ । मन्त्री औंला हो, सरकार हात हो,’– उनले भने ।
जिम्मेवारी पाएर परिणाम निकाल्न नसक्ने, घुस लेनदेनको विवादमा फस्ने, घुस लेनदेनको आरोप लाग्ने व्यक्तिहरुको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सहज हुने र अनुकूल हुने काम गर्नुपर्ने उनले बताए । काम गर्न नसक्ने मन्त्रीहरुलाई पनि अब हटाउन पर्ने उनले बताए । ‘शत पात्र पनि छन्, कुपात्र पनि छन् । कुपात्रलाई हटाउनुपर्छ । शत पात्रलाई बनाउनुपर्छ । यो आम जनताको कुरा हो । आम नागरिकले केपी शर्मा ओली नेतृत्वको सरकार कुनै पनि विवादमा नफसोस्, यसले विना रोकतोक राम्रो काम गरोस्, मन्त्रीहरुले उच्च नैतिकता, छवि र निष्ठा राखुन् । उनीहरु कुनै विवादमा नपरुन् भन्ने चाहेका छन्,’– उनले भने ।
साथै, उनले अहिले कांग्रेस–एमालेको गठबन्धनको बीचमा उच्चस्तरको समझदारी रहेको बताए । मुलुकलाई स्थिरता दिन, सुशासनको पक्षमा काम गर्न, सरकारको अनुभूति गराउन, सरकारको काम गराइलाई गति दिन, कामकाजी सरकारको छवि निर्माण गर्न, साना पार्टीहरुले ठूला पार्टीहरुको काँधमा बन्दुक राखेर आफ्नो स्वार्थ सिद्धि गर्न फाइरिङ गरिरहेको अवस्थालाई तोड्न, भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन कायम गर्न, विकास निर्माणलाई तीब्रता दिन यो सरकार बनेको उनले बताए ।




प्रतिक्रिया