मन्त्रिपरिषद् पूनर्गठन हुँदै, सूर्य थापालाई सहकारी मन्त्री बनाउने तयारी !


काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पूनर्गठनको तयारी थालेका छन् । पाँच दिने लामो स्पेन भ्रमण सकाएर हिजो (शुक्रबार) स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले यसै साता मन्त्रिपरिषद् पूनर्गठनको तयारी गरेका छन् ।

यसको लागि उनले आज/भोलिभित्रै मुख्य सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने बताईन्छ । सरकारको एक वर्ष पूरा भएपछि जसपा र लोसपाले आफ्ना मन्त्रीहरु फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ मन्त्री पठाउने समझदारी गरेका छन् । अहिले जसपाबाट प्रदीप यादव खानेपानी मन्त्रीको जिम्मेवारीमा छन् भने नवलकिशोर सुडी महिला तथा बालबालिकामन्त्रीको जिम्मेवारी छन् ।

लोसपाबाट भने शरदसिंह भण्डारी श्रममन्त्री छन् । जसपाले प्रदीप र नवलकिशोरलाई फिर्ता बोलाएर डा. वीरेन्द्र प्रसाद महतो र रञ्जु झालाई पठाउने भएको छ । उता, लोसपाले भने भण्डारीलाई फिर्ता बोलाएर सर्वेन्द्रनाथ शुक्लालाई पठाउने भएको छ । आफ्नो मन्त्री बोलाउने र नयाँ मन्त्री पठाउने विषयमा लोसपाका अध्यक्ष महन्थ ठाकुरले पनि छिट्टै प्रधानमन्त्री ओलीसँग भेट गर्ने भएका छन् ।

जसपा र लोसपाले मन्त्रीहरु फिर्ता बोलाएर नयाँ सेट पठाउने भएपछि प्रधानमन्त्री ओलीले पनि आफ्ना दलका केही मन्त्रीहरुलाई फिर्ता बोलाउने र उनीहरुको ठाउँमा नयाँ मन्त्रीहरु भित्र्याउने तयारी गरेको उच्चस्रोतको दाबी छ । प्रधानमन्त्री ओली युवा पँक्तिलाई नेतृत्वमा पुर्याउने नेताको रुपमा परिचित छन् ।

उनले पार्टीको संसदीय दलमा महेश बर्तौला र सुनिता बराललाई महत्वपूर्ण जिम्मेवारी दिएर युवालाई नेतृत्वमा पुर्याएको कुरा पुष्टि गरिसकेका छन् । पदम गिरी र सूर्य थापालाई पनि प्रधानमन्त्री ओलीले महत्वपूर्ण जिम्मेवारी सुम्पिसकेका छन् । गिरी स्वास्थ्यमन्त्री र कानूनमन्त्रीको जिम्ेमवारीमा पुगिसकेका छन् ।

उनी पनि सुरुमा दलको प्रमुख सचेतकको जिम्मेवारीमा थिए । थापालाई सहकारी छानबिन समितिको संयोजक बनाएर प्रधानमन्त्री ओलीले नेतृत्व विकास गराईसकेका छन् । अहिले मन्त्रिपरिषद् पूनर्गठन हुँदा प्रधानमन्त्री ओलीले पहिलो रोजाईमा सूर्य थापालाई राखेका छन् । आफ्नो जिम्मेवारीमा खरो उत्रिने स्वभावका थापालाई महत्वपूर्ण मन्त्रालयको जिम्मा दिने तयारी गरिएको छ ।

प्रधानमन्त्री ओलीको रक्षाकवजको रुपमा चिनिने थापालाई सहकारी मन्त्रालयको नेतृत्व सुम्पिने तयारी भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको नेतृत्वमा बलराम अधिकारी छन् । अब अधिकारीलाई रिप्लेस गरेर थापालाई सो मन्त्रालयको नेतृत्व सुम्पिने गाईंगुईं चल्न थालेको छ । थापा प्युठानबाट निर्वाचित सांसद हुन् । उनी संसद्मा समेत जनताको आवाज बुलन्द पार्ने सांसदको रुपमा चिनिएका छन् । पत्रकारिता ब्याकग्राउण्डबाट आएका थापा मिडियाले समेत सर्वाधिक खोजिने नेताको रुपमा पर्छन् ।