देशमा शान्ति, सुरक्षा त भएन भएन, अब कारागार पनि असुरक्षित भयो : प्रभु साह


काठमाडौं, २८ साउन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशमा शान्ति, सुरक्षा र अमनचयन नभएको अवस्थामा कारागार पनि असुरक्षित बनेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले कारगारपनि असुरक्षित हुन थालेपछि देशको शान्ति, सुरक्षाको अवस्था के हुने हो भनेर सोधेका हुन् ।

उनले भने,‘देशमा शान्ति, सुरक्षा, अमनचयन त भएन भएन, अब त कारागारपनि असुरक्षित हुन थाल्यो । सरकारको कष्टडीमा पनि व्यक्ति सुरक्षित नहुने भन्ने भयो । अहिले यसरी हेर्दा यो देशमा एउटामात्रै सुरक्षित देखियो, त्यो भनेको नेताहरुको लुट र भ्रष्टाचार ।’

उनले हिजो (मंगलबार) वीरगञ्जमा कैदी राहुल साहको समयमा उपचार नपाएर भएको निधनलाई लिएर सरकारको आलोचना गरे । उनले भने,‘माथिको आदेशको अभावमा ती व्यक्ति हस्पिट हुँदाहुँदैपनि मृत्युवरण गर्नुपर्यो, केही दिनअघि कैलाली कारागारमा भरत चौधरीको निधन भयो, म सोध्न चाहन्छु भरत चौधरीको हत्याको जिम्मा कसले लिन्छ ? त्यो जिम्मा लिनको लागि कोही त उभिनुपर्छ होला नि ?’

कारागारमा भएको कैदबन्दीको निधनमा सरकारको बेथिति दोषी रहेको साहको आरोप छ । कैलाली कारागारको अवस्थाबारे सरकारलाई अग्रिम जानकारी भएको भएपनि घट्ना घट्नु दुःखद् भएको उनको टिप्पणी छ । कारागार नै कैदीबन्दीहरुले ४८ घण्टासम्म नियन्त्रण लिएको घट्नाले नेपालको सुरक्षा संयन्त्र असफल भएको पुष्टि भैसकेको साहको दाबी छ ।